१ नंः प्रदेश सभामा एमालेका ५१ सांसदमध्ये  माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका १० जना सासंद निर्वाचन आयोगको कार्यालयमा सनाखत गराउन जाने भएका छन् ।

१० सांसदले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा रहने गरी प्रदेश १ को निर्वाचन आयोगको कार्यालयमा सनाखत गराउन आज ११ बजे जान लागेका हुन् ।

आजै निर्वाचन कार्यालयमा गएर सनाखत गराउने तयारी भइरहेको नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा प्रदेश सभा सदस्य राजेन्द्र राईले जानकारी दिए । 

‘सनाखतका लागि निर्वाचन आयोगले २२ गतेसम्मको समय दिएको भए पनि हामी आजै सनाखत गर्ने तयारीमा छौैँ,’ उनले भने ।

राईका अनुसार हाललाई १० जना सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराउने भए पनि २२ गतेभित्र अन्य केही सदस्यसमेत थप हुन सक्नेछन् ।

नेकपा एकीकृत समाजवादीमा निर्वाचन कार्यालयमा पुगेर सनाखत गराउने तयारीमा रहेका सांसदहरुमा भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, सावित्रा रेग्मी र कृष्णकुमारी राई, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ रहेका छन् । 

केही दिनदेखि सामूहिक रुपमा बसेर छलफल गर्दै आएका उनीहरुले नयाँ दल रोज्नका लागि एक साथ विराटनगरमा रहेको निर्वाचन कार्यालयमा सनाखत गर्ने तयारी गरेका छन् ।

बुधबार १० सांसदले नेकपा समाजवादी रोज्दै सनाखत गरेपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । प्रदेशसभाको बहुमतको लागि ४७ सांसद आवश्यक पर्नेमा १० सांसद समाजवादीमा आबद्ध भएपछि एमालेमा ४१ सांसद रहनेछन् भने विपक्षी गठबन्धनको बहुमत पुग्नेछ ।

प्रदेश सभामा अहिले नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् । 

राप्रपाकी ईन्दिरा राईबाहेक सबै विपक्षी गठबन्धनमा आबद्ध रहेकाले समाजवादीमा १० सांसद आबद्ध भएसँगै गठबन्धनको पक्षमा ५० सांसद हुनेछन्  ।