अफगानिस्तानबाट सैन्य फिर्तापछि अमेरिकाका राष्ट्रपति जो बाइडेनले देशका नाममा सम्बोधन गरेका छन् । बाइडेनले सम्बोधनमा अफगानिस्तानमा अमेरिकी मिसन सफल रहेको बताए । उनले काबुल छाड्नुको विकल्प नरहेको बताए । अफगानिस्तानमा लाखौं, करोडौं डलर खर्च गरिएको र यो अभियान निकै महँगो प्रमाणित भएको बाइडेनको भनाइ थियो । 

बाइडेनले भने– 

– हामीले अफगानिस्तानमा जे गर्यौं त्यो गर्वको कुरा हो । हाम्रो उपस्थितिमा अफगानिस्तानमा शान्ति कायम भयो । अफगानिस्तानमा हाम्रो मिसन सफल रह्यो । मलाई लाग्छ, हाम्रो निर्णय सही र उत्कृष्ट थियो । अफगानिस्तानमा युद्ध समाप्त भएको छ । 

– म यो निर्णयको सम्पूर्ण जिम्मेवारी लिन्छु । केही व्यक्तिले भनेका छन्, हामीले यो निर्णय पहिले नै लिनु पथ्र्यो । यो भनाइसँग म सहमत छैन । तर यस अघि यस्तो निर्णय हुन्थ्यो त त्यहाँ अराजकता फैलन्थ्यो र, गृहयुद्ध सुरु हुन्थ्यो । बिना चुनौती र खतरा निकास सम्भव थिएन । 

– म स्पष्ट रुपमा भन्न चाहान्छु, जसले अमेरिकालाई असर पुर्याउने प्रयास गर्छ, वा हाम्रा सहयोगीविरुद्ध आतंकवादमा समावेश हुन्छ, अमेरिकाले उसलाई आरामसँग बस्न दिने छैन । न हामी उसलाई माफ गर्छौं न बिर्सिन्छौं । हामी तिनीहरुको खोजी गर्छौं र यसको मूल्य तिनीहरुले पुर्ताल गर्नुपर्ने हुन्छ । 

– १ लाख २५ हजारभन्दमा बढी व्यक्ति अफगानिस्तानबाट फर्किए । व्यावसायिक रुपमा व्यक्तिहरुको उद्धार गरियो । जसरी हामीले काम गर्यौं, त्यसलाई बिर्सिन सकिन्न ।

– काबुल छाड्नेदेखि बाहेको दोस्रो विकल्प थिएन । सेना फिर्ता अभियानको सम्पूर्ण जिम्मा लिन्छु । अमेरिकी हितका लागि काबुल छाडिएको हो । 

– हामीले अफगानिस्तानमा ३ लाख सैनिक तयार गरेका थियौं । दुई दशकमा अफगानिस्तानमा कयौं घटना भए । हामीले त्यहाँ लाखौं करोडौं डलर खर्च गर्यौं । म युद्धलाई बढाउन चाहन्नथें । 

– १ सय देखि २ सय अमेरिकी नागरिक त्यहाँ छन् । जो अमेरिका आउन चाहन्छन्, हामी लिएर आउँछौं । नागरिक फिर्ताको समय ३१ अगस्टसम्म थियो । 

– अफगानिस्तानका राष्ट्रपति अशरफ गनी देश छोडेर भोग । गनी भागेपछि अफगानिस्तानमा अराजकता फैलियो । तालिबानले ५ हजार कमाण्डोलाई जेलबाट छुटाए ।

– अफगानिस्तानको जमिन आतंकको लागि हुनुहुँदैन ।

– हामीले चीनसँग कडा प्रतिस्पर्धाको सामना गरिरहनु परेको छ । रुसबाट पनि हामीले चुनौती पाइरहेका छौं । हामी अफगानिस्तानमा उनीहरुसँग प्रतिस्पर्धा गर्न चाहन्नौं । अब हामी नयाँ तरिकाले अघि बढ्न चाहान्छौं । हाम्रो विदेश नीति देश हितमा हुनुपर्छ । 

– हामी अफगानी नागरिकको सहयोगका लागि सदैव तयार हुनेछौं । महिला, बच्चा र मानव अधिकारका लागि लडिरहने छौं ।

– अफगानिस्तानमा २० वर्षको हाम्रो संघर्ष निकै कठिन थियो । यो मिसन अमेरिकाका लागि निकै महँगो रह्यो । हामीले त्यहाँ ठूलो संघर्ष गर्यौं । म अमेरिकाको सम्मानलाई सर्वोपरि ठान्छु । 

स्मरणीय छ, अमेरिकाले झण्डै २० वर्षपछि अफगानिस्तान छाडेको हो । ३० अगस्टमा नै अमेरिकी सेनाको अन्तिम जत्था अफगानिस्तानबाट फर्किएको थियो । यसैका साथ अमेरिकी सेनाले काबुल एयरपोर्ट पनि तालिबानलाई हस्तान्तरण गरेको छ । त्यहाँ तालिबानको खुसीयालीसमेत सुरु भएको छ ।