बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आइतबार २५औं वार्षिकोत्सव मनाएको छ । बिर्तामोड–४ मा रहेको नमस्ते बाल आश्रममा खाद्यान्न तथा खेलकुद र शैक्षिक सामग्री प्रदान गर्दै इक्यान झापाले रजत महोत्सव मनाएको हो ।
कार्यक्रममा इक्यान झापाका अध्यक्ष सुमन शर्मा, उपाध्यक्ष मिलन ओली, सचिव मदन बुढाथोकी, कोषाध्यक्ष राज कार्की, अतिरिक्त विभाग प्रमुख अनिल सापकोटा, रियल वल्र्डका सञ्चालक राज मुखियाले इक्यानले शिक्षाका क्षेत्रमा विभिन्न काम गर्दै आएको बताए । उनीहरुले आश्रमका बालबालिकालाई इक्यानको तर्फबाट गर्ने शैक्षिक सहयोग निःशुल्क रुपमा प्रदान गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
इक्यानले शैक्षिक परामर्शका साथै स्वदेश तथा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीका लागिसहयोग गर्दै आएको छ । कोरोना कहरका कारण शैक्षिक परामर्श अन्तर्गत सञ्चालित कन्सल्टेन्सीहरु लामो समयदेखि बन्द हुँदा कन्सल्टेन्सी व्यवसाय धरासायी बन्न पुगेको झापा अध्यक्ष जमरकट्टेलले बताए ।
आश्रममा दश बालक र आठ बालिका गरी १८ जना बालबालिका रहेका छन् । उनीहरुलाई इक्यानले खाद्यान्न तथा खेलकुद र शैक्षिक सामग्री प्रदान गरेको छ । आश्रममा रहेका बाललबालिकाहरु बिर्तामोडका विभिन्न निजी विद्यालयमा निःशुल्क रुपमा अध्ययन गर्दै आएको अध्यक्ष नारायण पोखरेलले जानकारी दिए ।
झापा, इलाम, तेह्रथुम, मोरङ लगायतका जिल्लाबाट ल्याइएका बालबालिकाहरु आश्रममा रहेका छन् । आमाबुबा नभएका तथा कोही आफन्त नभएका बालबालिकालाई आश्रमले पालनपोषण र उचित शिक्षादिक्षा दिँदै आएको अध्यक्ष पोखरेलले बताए ।































