प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीमप्रसाद आचार्य मन्त्रिपरिषद विस्तारको लागि आन्तरिक छलफलमा जुटेका छन् । शुक्रबार दुई मन्त्री नियुक्त गरेका उनले नेकपा एमालेमै बहुमत जुटाउने कसरतमा लागेका छन् ।

तर यो कसरतले प्रतिफल दिने हो कि नदिने हो भन्ने चाहिं तीव्र शंका छ । 

नवनियुक्त मुख्यमन्त्री आचार्यले एमालेको बहुमत जोगाउने दाबी गर्दै आइरहेका छन् । उनैले भनेको ‘लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दल’ सँग कुरा अगाडि बढाइरहेका छन् ।

एमालेका ५ सांसद मात्रै एकीकृत समाजवादीतिर गए मुख्यमन्त्री आचार्य अल्पमतमा पर्नेछन् । विपक्षी दल टसमस गर्ने अवस्थामा छैन । नेकपा एमालेमा माधव समूहका नेताका रुपमा चिनिएका मोरङ १ ‘ख’ बाट प्रदेश सभामा प्रतिनिधित्व गरेका उपेन्द्र प्रसाद घिमिरेले भीम आचार्य एकीकृत समाजवादीमा आए उनको मुख्यमन्त्री पद जोगिने बताएका छन् । 

विपक्षी गठबन्धनले उनैलाई मुख्यमन्त्री बनाउन तयारी गरेको सांसद घिमिरे  बताउँछन् । तर एमाले एकताको सन्देश बोकेर एमाले विभाजनको विपक्षमा रहेका मुख्यमन्त्री आचार्यले बहुमत जोगाउने दौडधूपमा छन् । 

एकीकृत समाजवादीमा बसे उहाँ नै मुख्यमन्त्री

‘प्रदेश सरकारको भविष्य के होला भन्ने विषयमा अब एक महिनाको समय छ, उहाँहरुले रोज्ने विषय हो । एक महिनाको लागि मुख्यमन्त्री बन्ने हो कि, निर्वाचन आयोगले २१ दिनभित्रमा दल दर्ता गर्न सूचना टाँस गरेको छ । मुख्यमन्त्री हुनेले सोच्नु पर्यो । एक महिनाको लागि हुने कि बाँकी अवधिका लागि हुने, उहाँले विचार गर्दै हुनुहुन्छ होला ।

उहाँले नै निर्णय गरेर नेकपा एकीकृत समाजवादीमा बसें भनेर भन्नु भयो भने मुख्यमन्त्रीलाई निरन्तरता गर्दिने हो । विश्वासको मत दिने हो, बहुमत पुग्छ गठबन्धनको । होइन भने दल रोज्न पाउने अधिकार छ उहाँलाई पनि । एक महिना समय छ । 

यही अवस्थामा उहाँलाई विश्वासको मत पुग्दैन । सरकार त ढल्छ । त्यसपछि सरकार गठबन्धनको हुन्छ । नेतृत्व राजेन्द्र राईको हुन्छ ।’