नेपाली हास्यव्यङ्ग्य क्षेत्रका प्रतिभा वासुदेव शर्मा लुइँटेलको स्मृतिमा स्थापित पुरस्कारहरू आज राजधानीमा वितरण गरिएको छ । जसअनुसार २०७६ सालको हास्यव्यङ्ग्य चित्रतर्फको पुरस्कार वरिष्ठ कलाकार शशी शाहलाई प्रदान गरियो भने २०७७ सालको हास्यव्यङ्ग्य अभिनयतर्फको पुरस्कार किरण केसी (राता मकै) लाई प्रदान गरियो । 

यी दुवै पुरस्कारको राशि रु एक लाख ११ हजार १११ रहेको छ । वरिष्ठ साहित्यकार रोचक घिमिरेले वासुदेव विद्यादेव लुइँटेल गुठीका पदाधिकारीहरूको उपस्थितिमा शाह र केसीलाई पुरस्कार प्रदान गरेका हुन् । कार्यक्रममा घिमिरेले पुरस्कृत कलाकार शाहको नेपाली आधुनिक कलासँगसँगै हास्यव्यङ्ग्य चित्रकलामा पनि विशिष्ट योगदान रहेको बताए । 

पुरस्कृत अर्का स्रष्टा किरण केसीको हास्यव्यङ्ग्य अभिनय जीवन्त रहेको उनले बताए । यसैबीच पुरस्कृत स्रष्टा केसीले पुरस्कारस्वरुप आफूले पाएको रकममध्ये ९० प्रतिशत समाजसेवामा खर्चने जानकारी दिए । सोही अवसरमा गुठीका अध्यक्षसमेत रहनु भएकी स्व लुइँटेलकी पुत्री डाक्टर सुषमा आचार्यका कृति ‘कस्ले सुन्छ मेरो आवाज’ (उपन्यास) र त्यसको अङ्ग्रेजी अनुवाद ‘हु विल हियर माई भ्वाइस’ को वरिष्ठ साहित्यकार घिमिरे र पुरस्कृत स्रष्टाद्वयले विमोचन गरे । 

गुठीका सचिव प्राध्यापक डाक्टर विद्यादेव शर्माले शाह र केसी जस्ता उच्च कोटीका प्रतिभालाई पुरस्कृत गर्न पाउँदा गुठी गौरवान्वित भएको बताए । कोरोना महामारीका कारण समयमा दिन नसकिएका यी दुई पुरस्कार आज प्रदान गरिएको हो ।