पाँचथर/ गत आर्थिक वर्षमा पाँचथरमा ११ वटा झोलुङ्गे पुल निर्माण भएको छ । 

पूर्वाधार विकास कार्यालय पाँचथरले आर्थिक वर्ष २०७७/७८ मा ११ वटा झोलुङ्गे पुल निर्माण गरेको हो । तीमध्ये दुईवटा पुलले पाँचथर र ताप्लेजुङ जिल्लालाई जोडेका छन् । बाँकी नौमध्ये पाँचथरमा छ तथा ताप्लेजुङमा तीन पुलको निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ ।

दुई जिल्ला जोड्न ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ सिलसिले र पाँचथरको याङवरक गाउँपालिका–२ ओखल्लीवारी जोड्ने ८३ मिटरको इवाखोला र त्यही वडा जोड्ने ११९ मिटरको अर्को इवाखोला झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो ।

कार्यालयका अनुसार ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा १२० मिटरको तमोर नदीमा झोलुङ्गे पुल फूलबारी आमबोटे, मैवाखोला गाउँपालिका–६ थुकिम्बा र मेरिङदेन गाउँपालिका–१ पाङ्लाबुङ जोड्ने ११५ मिटरको मैवाखोला झोलुङ्गे पुल र फक्ताङलुङ गाउँपालिकाको वडा नं ५ र ६ लाई जोड्ने १२० मिटरको पुल निर्माण सम्पन्न भएको छ ।

यसैगरी पाँचथरतर्फ फिदिम नगरपालिका–११ र १३ लाई जोड्ने ७३ मिटरको पञ्चमी झोलुङ्गे पुल, फिदिमकै वडा नं ८ र १३ लाई जोड्ने ९६ मिटरको बोझेगरा–टिम्मुरे झोलुङ्गे पुल, फिदिमकै वडा नं १४ मा १२० मिटरको बाँस्बोटे शीतलपाटी झोलुङ्गे पुल, फालेलुङ गाउँपालिका–३ मा ८१ मिटरको खेवा थानखोला पोक्नवा झोलुङ्गे पुल र मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा ९३ मिटरको सेङ्गेवा खोला झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् ।

यी ११ वटै पुल निर्माणका लागि तीन करोड ८९ लाख १७ हजार बजेट विनियोजन भएकामा तीन करोड ७३ लाख ४५ हजार रकम खर्च भएको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ । कार्यालयका अनुसार झोलुङ्गे पुल निर्माणमा शतप्रतिशत भौतिक प्रगति भएको छ भने ९५.९६ प्रतिशत वित्तीय प्रगति भएको छ ।

मानिसको नियमित आवतजावत हुने क्षेत्रका खोला तथा खोल्सीमा झोलुङ्गे पुल नहुँदा विशेषतः बर्खायाममा सर्वसाधारणले समस्या झेल्ने गरेका थिए ।

पाँचथरमा एक समय सिरिजङ्घा ग्रामीण विकास केन्द्रले तत्कालीन जिल्ला विकास समितिको कार्यालयसहितका निकायको सहयोगमा झोलुङ्गे पुल निर्माणको अगुवाइ गरी सयौँ स्थानमा झोलुङ्गे पुल निर्माण गरेको थियो ।