पथरीशनिश्चरे /  नेपाल घरेलु तथा साना उद्योग महासंघको समन्वयमा यो पटक ३५ पालिकामा घरेलु तथा साना उद्योग प्रवद्र्धनको कार्यक्रम तय भई पालिकाहरुमा अवधारणाका बारेमा छलफल थालिएको छ ।   

प्रत्येक प्रदेशका ५ पालिकाका दरले अघि बढ्ने प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत १ नम्बर प्रदेशको मोरङ जिल्लामा ३ पालिकामा सम्झौता भई अवधारणापत्रका बारेमा छलफल अघि बढेको छ । जस अन्तर्गत मंगलबार पथरी शनिश्चरे नगरपालिकामा महासंघले नगरमा स्थापित उद्योग व्यवसायको स्तरोन्नती र नयाँ व्यवसाय सुरुवात गर्ने सम्बन्धी अवधारणापत्रमाथि छलफल गराएको छ ।

पालिकासँगको सहकार्यमा कार्यक्रम अघि बढाइने योजना रहेको छ ।

  कार्यपालिका सदस्यहरुबीच भएको छलफलमा महासंघका केन्द्रीय अध्यक्ष श्यामप्रसाद गिरीले सञ्चालन भइरहेको उद्योगको प्रवद्र्धन, नयाँ व्यवसायिक योजना निर्माण, परियोजना तयारी र व्यवसाय स्थापनाका लागि व्यवसायिक ज्ञान तथा सहुलियत कर्जाका लागि बैंकहरुसँग समन्वय गर्ने काम महासंघले गर्ने बताए ।

यसै सन्दर्भमा ०७८ साउन १५ गते काठमाडौंमा पथरीशनिश्चरे, बेलबारी नगरपालिका र केराबारी गाउँपालिकासँग सम्झौता भएको उल्लेख गरे । उनले थप प्रष्ट्याउँदै भने ‘व्यवसाय सञ्चालनमा के समस्या भएको छ त्यसको सुक्ष्म अध्ययन गरी सकारात्मक हस्तक्षेपमार्फत त्यसको प्रवद्र्धनको उपायमा सघाउने काम गरिने छ ।’

कतिपय अवस्थामा व्यवसाय सञ्चालनको ज्ञान नभएको, बजारीकरणको अनुभव नभएको तथा गुणस्तरीय प्रतिष्पर्धामा र पूँजीगत व्यवस्थापनमा समस्या भएको कुरालाई केलाएर हेर्दै सोही अनुरुपको सहजिकरण गर्ने कार्यक्रम तय गरिएको छ ।

बेलबारीमा पनि छलफल सम्पन्न भएको छ । ‘अव हामी बुधबार केराबारीमा पनि छलफल अघि बढाएपछि आएका रायका आधारमा लक्ष्य निर्धारण गरी तिनवटै पालिकाका लागि कार्यक्रम तय गर्नेछौं ।’– गिरीले भने ।

  विषय विज्ञ बाबुराम रानाभाटले सरकारी तबरबाट मात्र उद्यम प्रवद्र्धन गर्ने कुरामा प्रभावकारिता हुन नसकेकाले नीजि क्षेत्रबाट प्रवद्र्धनको प्रयास स्वरुप व्यवसाय प्रवद्र्धनका लागि व्यवसायिकस्थलमै प्राविधिक खटाएर सहयोग पुर्याउने लक्ष्य सहितको अवधारणापत्र प्रस्तुत गरेका थिए ।

उनले व्यवसाय प्रवद्र्धनका लागि पालिकामा नीति नियम लेखन/पुनर्लेखन गर्ने, भइरहेको उद्योग व्यवसायको प्रवद्र्धनबाट रोजगारी सृजना गर्ने, उद्यमशिलताबाट व्यवसाय सिर्जना गर्ने, पूँजीका लागि सहजिकरण गर्ने सहितका अवधारणाका बारेमा प्रष्ट्याएका छन् ।

अब यसको प्रक्रिया अघि बढाउनका लागि सम्भाव्य उद्यमी छनौट, अभिमुखिकरण, नविन सोचको प्रस्तुति, व्यवसाय सञ्चालनका अग्र र पृष्ठ सम्बन्धको विकास, उद्योग दर्ता प्रक्रिया सहजिकरण, बजारिकरणका लागि आइटीको प्रयोग र पूँजी व्यवस्थापन सहजिकरण गरिने उल्लेख गरे ।

  कार्यक्रममा बोल्दै महासंघको केन्द्रीय उद्यम महिला समिति अध्यक्ष शिवा उपाध्यायले महिलाहरु उद्यमी बनेर आत्मनिर्भर बन्नका लागि यसै कार्यक्रमसँग समेत जोड्ने बताइन् । कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष मुकेशकुमार उपाध्याय सहितले देशमा घरेलु तथा साना उद्योग प्रवद्र्धन गरी उत्पादन बढाएर निर्यात बढाउने योजनाका बारेमा जानकारी गराएका थिए ।

  छलफलमा बोल्दै नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितले नगरमा उद्योग व्यवसाय प्रवद्र्धनको कार्यक्रमले नगरको विकासमा टेवा पुग्ने वताए ।