बर्तामोड/ कोरोना संक्रमणको त्रासका बीच अनलाइन कक्षा अध्ययन गराइरहेका निजी बिद्यालयहरुले अभिभावकबाट पुरा शुल्क लिएको भन्दै बिद्यार्थी संगठनले त्यो शुल्क फिर्ता गर्न माग गरेका छन् ।

कतिपय बिद्यालयले अभिभावकबाट गतबर्षको भन्दा बढी शुल्क असुल गरेको  आरोप बिद्यार्थी नेताहरुको छ । उनीहरुले यस्तो बिषम परिस्थितीमा शुल्क बृद्धि नगर्न र गत शैक्षिक सत्रको शुल्कभन्दा ५० प्रतिशत बढी अनलाइन कक्षाको शुल्क नलिने झापाका विद्यालयहरुलाई चेतावनी दिएका छन् ।

यस बिषम परिस्थितिमा विद्यार्थीहरुको शैक्षिक क्रियाकलापलाई निरन्तरता दिने बहानामा झापाका कतिपय सामुदायिक एवं संस्थागत विद्यालय तथा क्याम्पसहरुले अभिभावकहरुबाट चर्को शुल्क असुलिरहेका छन् । आम विद्यार्थी र अभिभावकबाट आएको त्यस गुनासोप्रति गंभीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल विद्यार्थी संघ र अनेरास्ववियू क्रान्तिकारीले त्यस्तो चेतावनी दिएका हुन् ।

नेपाल विद्यार्थी संघ झापाका सभापति राजेन्द्र उप्रेती र अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष अनिल सुवेदीले एक प्रेस विज्ञप्ति जारी गरी आफूहरुको आग्रहलाई बेवास्ता गर्ने प्रयत्न भएमा कठोर आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।