विजयपुर । धरान–१२ चतरालाइनको त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त धरान मेघा कलेजले माध्यमिक तह कक्षा ११ को विज्ञापन गरी विद्यार्थी भर्ना भने अर्कै विद्यालयमा गराउने गरेको पाइएको छ ।

माध्यमिक तहका कक्षा ११ र १२ को प्रचार मेघा कलेजका नामबाट गरे पनि कक्षा ११ का विद्यार्र्थीलाई भने हिमालयन माविबाट भर्ना गर्दै आएको छ । धरान मेघा कलेजमा केही वर्षदेखि व्यवस्थापन सङ्कायमा स्नातक तह अध्यापन गराउँदै आएको थियो । हाल सोही कलेजकै समूहले हिमालयन मावि पनि सञ्चालन गरिरहेको छ । मेघा कलेजको नाममा प्रचार गरेर हिमालयनमा भर्ना लिएको विषयमा कलेजले भने मेघा कम्पनी भएकाले त्यसै अन्तर्गत प्रचार गरेको दाबी गरेको छ ।

धरान उपमहानगरका शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कटुवाल धरान मेघा कलेजको नाममा विज्ञापन गरेर हिमालयन स्कुलमा भर्ना गर्नु गलत भएको बताउँछन् । उनले उपमहानगरले २ पटक अनुगमन गरेर सम्झाएको बताए । उनले भने, ‘अझै अनुगमन गर्छौं, कमजोरी अनुसारको कारबाही हुन्छ ।’

कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले धरान मेघा कलेज कम्पनी भएकाले सो अन्तर्गत विज्ञापन गरेको दाबी गरे । उनले आफूले कलेजको विज्ञापन गरे पनि अनुमतिप्राप्त विद्यालय हिमालयनमा भर्ना गरेको बताए । उनले विद्यालयको पनि नाम परिवर्तन गरी मेघा नै बनाउन लागेकाले विज्ञापन गरेको बताए ।

‘विद्यालय र कलेज एउटै कम्पाउडभित्र छन् । नाम पनि परिवर्तन गर्ने तयारीमा छौँ, प्रक्रिया अलि ढिलो भएकाले अवैधानिकजस्तो लागेको हो । तर, अवैधानिक काम गरेका छैनौँ’–उनले भने । हिमालयन विद्यालयले कक्षा ११ मा विज्ञान विषय अध्यापनको अनुमति गतवर्ष प्राप्त गरेको छ भने यसपटक व्यवस्थापन विषय माग गरेको छ ।