बिर्तामोड । स्वास्थ्य उद्यमी दुर्गा प्रसाईँले झापाको अर्जुनधारामा २ करोडको लगानीमा बिद्यालय भवन बनाईदिने भएका छन् ।

बिएन्डसी हस्पिटलले शैक्षिक क्षेत्रमा योगदान गर्न सुरु गरेको सञ्चालक दुर्गा प्रसाईँले बताए । अर्जुनधारा १ सिस्नेस्थित सिंहदेवी माध्यमिक विद्यालयमा भवन निर्माणका लागि बिएन्डसीले २ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

भवन निर्माणका लागि शुक्रबार विद्यालय परिसरमा शिलान्यास गरिएको छ । अस्पतालका अध्यक्ष इन्दिरा गिरी र कार्यकारी निर्देशक दुर्गा प्रसाईंले संयुक्तरुपमा भवनको शिलान्यास गरे । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकास गर्ने उद्देश्यले बिएन्डसीको सामाजिक उत्तरदायित्वलाई वहन गर्दै उक्त कार्य गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले बताए ।

दुई करोड रुपैयाँको लागतमा दुई तले भवनसँगै सुविधायुक्त खानेपानी ट्याङकी पनि निर्माण हुने विद्यालयका प्रधानाध्यापक लक्ष्मी रिजालले जानकारी दिए । भवनमा ८ वटा कक्षा कोठा रहनेछ भने विद्यालयको तर्फबाट माथिल्लो तलामा साइन्स ल्यावका लागि प्रस्ताव गरिएको प्रअ रिजालले बताए ।

सोही कार्यक्रममा विद्यालयको तर्फबाट अस्पतालका अध्यक्ष गिरी र कार्यकारी निर्देशक प्रसाईं तथा भवन निर्माणका लागि थप जग्गा निःशुल्क उपलब्ध गराउने जग्गादाता रानीशोभा राईलाई सम्मान गरिएको थियो । निर्देशक प्रसाईंले राईको स्वास्थ्योपचार आजीवन निःशुल्क गर्ने घोषणा पनि गरे ।

प्रसाईँले बिर्तामोडको मोहनमाया मावीमा तीन करोड रुपैयाँको लागतमा निर्माण गरेको बिद्यालय भवन हस्तान्तरणको प्रक्रियामा रहेको छ ।