बिर्तामोड । भदौ १ गते साँझ झापाको मेचीनगर–१३ चारआलीका दुई महिला र एक पुरुषसँगै ‘खाजा खाने’ सल्लाह गर्दै बिर्ताबजारको एक होटलमा आए । अरु समयमा ‘मिठो खाजा’ उपलब्ध गराउने होटल त्यो दिन बन्द थियो । 

अरुबेला आउँदा खाजा खाने होटल बन्द भएको थाहा पाएपछि उनीहरुले नजिकैको सीमाना होटल खुल्ला रहेको देखे । टोलीमध्ये पुरुषले होटल सिमानाका सञ्चालकसँग खाजामा के पाउँछ भन्दै सोधे । होटल सञ्चालकले भारतबाट आँखा उपचारका लागि आएका मान्छेलाई खाना तयार गर्न होटल खोलेको बताए । तर, होटलमा मासु भने रहेको जानकारी दिए । 

लक–डाउन त्यही दिन खुलेका कारण बिर्तामोडमा अरु होटल सञ्चालन भई सकेका थिएनन् । उनीहरु त्यही होटलमा खाजा खान तयार भए । भारतबाट मान्छे आएका कारण माथिल्लो तलामा गएर खाजा खान उनीहरुलाई होटल सञ्चालकले सुझाए । उनीहरु पनि कोरोना संक्रमणको त्रासका कारण होटलको माथिल्लो तलामा रहेको एउटा कोठामा बसेर खाजा खान थाले । 

उहीहरुले खाजा खान थालेको लगभग आधा घण्टापछि दुईमध्ये एक महिलाका आफन्त दुईजना युटुबर साथमा लिएर कोठामा प्रवेश गरे । अब शुरु भयो भिडियो खिच्दै हप्की दप्की गर्ने काम । उनका आफन्तले पनि अर्की महिलाको उक्साहटमा लागेर साँझमा होटलमा ‘अनैतिक’ क्रियाकलाव’ गर्न गएको आरोप लगाउन थाले । 

साथमा युटुबरले पनि अन्तराष्ट्रिय मिडिया भएको भन्दै प्रतिवाद नगर्न चेतावनी दिइरहे । उनले महिलाको नाम, ठेगाना तथा अनुहार समेत प्रष्ट देखिने गरि बिभिन्न सामाजिक सञ्जालबाट ‘लाइभ’ गरेका थिए । ‘बिर्तामोड होटल काण्ड’, ‘बिर्तामोडको होटलमा देखियो यस्तो दृष्य’, ‘खाजा खाने बहानामा होटलमा यस्तोसम्म भयो’ लगायतका आपत्तिजनक शीर्षक राखेर युटुबमा भिडियो अपलोड गरियो । भिडियो एकैछिनमा भाइरल भयो । लाखौं दर्शकले भिडियो हेरे । कतिले त्यही भिडियोमा टिकटक बनाए । टिक टकले पनि हजारौं भ्युज बटुल्यो । 

त्यसको भोलीपल्ट महिलाहरु आफ्नो ‘चरित्रहत्या’ भएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनीमा ‘न्याय माग्न’ आए । उनीहरु तीनैजनाले ‘अभद्र ब्यवहार’ शीर्षकमा पक्राउ गरी कारवाही गर्न इप्रका अनारमनीमा उजुरी दिए । पीडितको उजुरीका आधारमा झापा प्रहरीले पीडित महिलाका काका ससुरा हेमराज भट्टराई, सोही स्थानका सुवास कार्की र युटुबर खगेन्द्र घिमिरेलाई पक्राउ परेका छन् । 

उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसंधान शुरु गरेको डिएसपी सन्तोष आचार्यले जानकारी दिए । उनले पीडितको उजुरीका आधारमा अर्का युटुबर भास्कर श्रेष्ठ, सोही भिडियोलाई टिक टक बनाउने बिर्तामोडकै कल्पना थापा बस्नेत र चन्दा उप्रेतीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताए । 

पछिल्लो समयमा युटुबरले पत्रकारिताको आवरणमा ब्यक्तिगत बिषयलाई सार्वजनिक गरेर घरबार तहस–नहस पार्ने गरेको भन्दै आलोचना हुन थालेको छ । उनीहरुले अपलोड गरेको भिडियोमा हरेक ब्यक्तिको ब्यक्तिगत स्वतन्त्रतामा असर पु¥याएको भन्दै दर्शकले कमेन्टमा आलोचना गरेका हुन् । 

अर्काको ब्यक्तिगत जीवनमा प्रवेश गरेर चरित्रहत्या गरेको भन्दै दर्शक आक्रोशित बनेका छन् । उनीहरुले युटुबरमाथि कडा कारवाही गर्न आग्रह गरेका छन् । पीडित महिलाले स्थानीय अगुवा ब्यक्ति पीडकलाई बचाउन लागेको भन्दै कडा कारवाही तथा आफुहरुलाई न्याय दिन माग गरेका छन् । 

पीडित बिस्थापित

पीडित महिलाहरुले समाजमा बिकृति फैलाएको भन्दै पक्राउ पर्नेका आफन्तले धम्की दिएपछि उनीहरु घरबाट बिस्थापित भएका छन् । पीडित मध्येकी एक महिला झापाको शनिश्चरे र एकजना चन्द्रगढीमा आफन्तको घरमा आश्रय लिएर बसेका छन् । 

‘समाज भाँडेको’ आरोप लगाउँदै पक्राउ पर्नेका आफन्तले पीडितलाई ‘जे पनि हुन सक्ने’ धम्की दिएको उनीहरुको भनाई छ । उनीहरुले घर जान सक्ने वाताबरण मिलाई दिन पनि आग्रह गरेका छन् । पीडकका आफन्तले पीडितले प्रहरीमा जाहेरी दिएपछि घरमा आए राम्रो नहुने भन्दै धम्की दिएको उनीहरुले बताए । 

मजदुर संघको कार्यालयमा तालाबन्दी

बिर्तामोड युट्युव काण्डमा निर्दोष व्यक्तिलाई पक्राउ गरिएको भन्दै स्थानीयले आयल निगमको मजदुर संगठनमा तालावन्दी गरेका छन् । स्थानीयबासीले शुक्रबार मजदुर संगठन ट्याङ्कर कमिटीको कार्यालयमा तालावन्दी गरेका छन् ।

उनीहरुले होटल व्यवसायी हेमराज भट्टराई र अर्का युवा सुवास कार्कीले समाजकै भलाईको लागि काम गरेको भन्दै उनीहरुलाई रिहाई गर्न माग गरेका छन् । युटुबरको बारेमा आफुहरु जानकार नभएको भन्दै स्थानीयबासीले गाउँमा धेरै विकृति बढेका कारण गाउँले कै सल्लाहमा उनीहरुलाई होटलबाट पक्राउ गरिएको जानकारी दिएका छन् । 

सो संगठनका सचिवले गाउँका चेलीलाई रातीराती बाहिर लिएर गएको र यसअघि पनि सोही प्रकारको घटना भएको भन्दै तालावन्दी गरेको स्थानीय लक्ष्मण कार्कीले बताए । उनले गाउँमा हदैसम्मको विकृति बढेको आरोप लगाएका छन् । पीडित एक महिला सोही कार्यालयमा सचिव पदमा कार्यारत तथा उनीसँग खाजा खान आएका युवा ट्याङकर चालक तथा संगठनका सचिब हुन् ।