धरान । विश्व बैंकमार्फत सरकारलाई प्राप्त ऋणअनुदानअन्तर्गत इटहरी उपमहानगरपालिकामा एक अर्ब २५ करोडको परियोजना सञ्चालन हुने भएको छ । 

गत वैशाखमै इटहरी उपमहानगरले सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको छ । नगर प्रमुख द्वारिकलाल चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सहरी विकास मन्त्रालयमार्फत इटहरी उपमहानगरपालिकालाई ऋण प्राप्त भएको हो ।

इटहरीको विकास निर्माणमा यो ऋण प्रयोग गरिने भएको छ । इटहरीको प्रमुख समस्याका रूपमा रहेको ढल निका, नदी कटान नियन्त्रण र उच्च गुणस्तरको कालोपत्रे सडक निर्माणलाई छनोट गर्न सक्ने नगर प्रमुख चौधरीले जानकारी दिए । यी दुई योजनामध्ये एउटामा लगानी गर्ने छ । 

पाँच वर्षभित्र सम्पन्न गर्ने योजनाका लागि अन्तर्राष्ट्रिय ठेक्का प्रणालीअन्तर्गत परामर्शदाता नियुक्तका लागि ठेक्का आह्वान भइसकेको छ । परामर्शदाता कम्पनीले विज्ञहरू नियुक्त गर्दै परियोजनाका लागि पाँच वर्षसम्म बस्ने छन् । योजना छनोटका लागि नगर प्रमुखको संयोजकत्वमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, दुई जना वडाध्यक्ष र योजना शाखा प्रमुख रहेको समिति बन्ने छ । समितिले बढीमा दुई वटा योजना छनोट गर्ने छ । सोही छनोट भएको योजनालाई पाँच वर्षभित्र पूरा गर्ने गरी विज्ञहरूले काम गर्नेछन् ।