धरान । हिबिस्कस इङलिस बोर्डिङ स्कुल, धरान १५मा यसपटकबाट कक्षा ११ मा विज्ञान संकायको पढाई सुरु हुने भएको छ । 

स्कुलले यसैपटकबाट कक्षा ११ को पढाई सुरु गर्न लागेको हो । स्कुलले कक्षा ११ मा विज्ञान संकायको पढाई सुरु गर्न लागेपछि अभिभावकसँग अन्तरक्रिया सम्पन्न गरेको छ ।

हिबिस्कसले यसपटकबाट कक्षा ११मा विज्ञान संकायको पठन पाठन सुरु गर्ने भएपछि अभिभावकसँग सल्लाह सुझाव माग्दै अन्तरक्रिया गरेको हो । शनिबार सम्पन्न अन्तरक्रियामा बोल्दै स्कुलका को अर्डिनेटर विजय थेवेले हिबिस्कसले गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कन्जुस्याई नगर्ने बताए । उनले भने, ‘हामी सर्वप्रथम आफ्नै विद्यालयका विद्यार्थीलाई प्राथमिकता दिन्छौं । धेरै विद्यार्थी बटुलेर नाफा कमाउने भन्दा थोरै विद्यार्थी राखेर गुणस्तरीय उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।’

उनले हिबिस्कसमा अधिकांश विज्ञान विषयका शिक्षकहरु रहेको र कक्षा सञ्चालन भएपछि विभिन्न क्षेत्रका विज्ञहरुलाई समेत निम्त्याएर पठनपाठन गराईने बताए । कार्यक्रममा सहभागी अभिभावकहरुले विद्यार्थीहरुको सिकाईमा जोड दिन आग्रह गरेका थिए । 

कक्षा १० सम्म सञ्चालित हिबिस्कसले यसपटकबाट ११ कक्षा सुरु गर्न लागेको र पहिलो पटक नै विज्ञान संकायबाट सुरु हुने भएकाले सोहि अनुसारको पूर्वाधार तयार गरिसकेको स्कुलका निर्देशक गंगाराम राईले बताए ।