डेढ वर्षदेखि अनलाइनका माध्यमबाट पढिरहेका विद्यार्थीलाई दिनमा तीन पटकसम्म विद्युत् र इन्टरनेट जान थालेपछि पठनपाठनमा बाधा पुगेको छ ।

राजधानीको उत्तरपूर्वी भेगका शङ्खरापुृर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाका ग्रामीण भेगमा पटपपटक बत्ती र इन्टरनेट जाँदा पढाइमा बाधा पुगेको स्थानीयवासीको गुनासो छ । विसं २०७६ चैत ११ गते कोरोना महामारीबाट बच्न जारी बन्दाबन्दी भएदेखि निरन्तर विद्यालय अनलाइन कक्षा चलाएका छन् । 

गतवर्ष पुसदेखि चैतसम्म भौतिक रुपमा कक्षा चलाएकामा वैशाखपछि फेरि नयाँ भेरियन्टसहितको कोरोना जोखिम बढ्न थालेको थियो । जोखिम बढ्न थालेसँगै फेरि अनलाइन कक्षा चलिरहेको छ । अनलाइन कक्षा चलेपनि कहिले बत्ती त कहिले इन्टरनेट जाने गरेकाले नियमित रुपमा अध्ययन गर्न नसकिएको गोकर्णेश्वर नगरपालिका–१ का स्थानीयवासी घनेन्द्र सिम्खडाले जानकारी दिए । 

नगरपालिका घोषणा गरिएका स्थानमा पनि पूर्वाधारको राम्रो विकास नहुँदा बालबालिका समस्यामा परेका हुन् । बिहानभर बत्ती बल्ने र १० बजेपछि बालबालिकाको कक्षा शुरु हुने बेलामा बत्ती जाने गरेको उनको गुनासो छ । कहिले सडक निर्माण, कहिले खानेपानीको पाइप विच्छ््याउने त कहिले ढल निर्माण भन्दै बत्ती काटिने गरेको उनको गुनासो छ । महामारीको विषम परिस्थितिमा यस्ता काम रात्रिको समयमा गर्न सकिने भए पनि यसतर्फ सरोकार भएका निकायका अधिकारीको ध्यान जान सकेको छैन । 

नेपाल विद्युत् प्राधिकरणमा पुनः कुलमान घिसिङ कार्यकारी निर्देशक नियक्त भई आए पनि बत्ती जाने क्रम नरोकिएको अभिभावकको भनाइ छ । बत्ती र इन्टरनेट जाने काम रात्रिको समयमा गर्न सकिने भए पनि सरोकार भएका निकायले यसमा ध्यान नदिँदा साना बालबालिका मारमा पर्ने गरेका छन् । 

विद्यार्थी मात्र नभइ अन्य पेशा र व्यवसायमा कार्यरतले पनि सम्भव भएसम्म अनलाइनबाट नै काम गर्ने समयमा सडक विस्तारका क्रममा दिनमा १० घण्टासम्म बत्ती काटिने गरेको छ । बत्ती काटिएका बेला कतिखेर आउँछ भनी गोकर्ण नो लाइटमा फोन गरेर सोध्न खोज्दा फोन नलाग्ने बनाएर राख्ने गरेको अभिभावक रमिला भण्डारीले गुनासो गर्नुभयो । जोरपाटी पूर्वोत्तरको क्षेत्रमा बत्ती मात्र नभइ इन्टरनेट पनि नियमित छैन । 

जोरपाटी–सुन्दरीजल र जोरपाटी–साँखु सडक विस्तारका क्रममा पानीको पाइप, ढल विच्छ््याउने बेलामा इन्टरनेटको तार काटिएकाले समस्या भएको नेपाल टेलिकम जोरपाटी शाखामा एडिएसएल सेवा हेर्नुहुने अर्जुन पोखरेलले बताउनुभयो । ग्राहकको समस्यालेसमेत इन्टरनेट जाने भए पनि यो क्षेत्रमा भने सडक विस्तारका क्रममा जमिनमुनि विच्छ््याइएका पाइप, ढलकै कारण इन्टरनेटको तारमा समस्या आएको उनले सुनाए ।

ल्याण्डलाइन टेलिफोन, राउटरलगायत प्रणालीमा हुने समस्याका कारण पनि इन्टरनेट जाने गरेको छ । यस क्षेत्रमा सरकारी कम्पनीको मात्र नभइ निजी क्षेत्रका इन्टरनेट प्रदायक कम्पनीको सेवासमेत नियमित हुन सकेको छैन । बत्ती र इन्टरनेट सेवा नियमित नहुँदा त्यसको मारमा भने साना–साना बालबालिका पर्ने गरेका छन् ।  कोरोना जोखिमका कारण विद्यालय जान नपाएका बालबालिका घरमा बस्दा तनावमा रहेकै बेला बत्ती र इन्टरनेटको समस्याले पढ्न नपाउँदा बढी समस्या हुने गरेको छ । बालमैत्री वातावरण निर्माणका लागि पनि अनलाइन कक्षा चलेका बेला नियमित रुपमा बत्ती र इन्टरनेट सेवाको व्यवस्था गर्न अभिभावक सानुभाइ श्रेष्ठले तीन तहका सरकारसँग माग गरेको छ ।