विराटनगर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले एक वर्षमा गरेका ९ वटा ‘स्टिङ अप्रेसन’ मा २० जना सरकारी कर्मचारी पक्राउ परेका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा अख्तियार इटहरीले पाँच जिल्लामा ९ वटा स्टिङ अप्रेसन गरेर २० जनालाई घूससहित रङ्गेहात पक्राउ गरेको हो । घूस रकमसहित रङ्गेहात पक्राउ पर्नेमा सहायक तहदेखि अधिकृतस्तरका सरकारी कर्मचारीहरू र जनप्रतिनिधिसम्म छन् । पक्राउ परेका कर्मचारीबाट ९ लाख ५६ हजार रुपैयाँ बरामद भएको थियो भने ५ लाख ५३ हजार रुपैयाँ स्रोत नखुलेको रकम भेटिएको आयोगले जनाएको छ ।

आर्थिक वर्षमा सुनसरीमा ४ वटा स्टिङ अप्रेसनमा ७ जना, सप्तरीमा ३ वटा स्टिङ अप्रेसनमा ५ जना, उदयपुरमा एउटा स्टिङ अप्रेसन गरी ६ जना र मोरङ र इलाममा १–१ वटा स्टिङ अप्रेसन गरी १–१ जनालाई घूस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका प्रमुख बाबुराम खतिवडाले जानकारी दिए ।

‘स्टिङ अप्रेसन’ बाहेक आयोगले उजुरीको आधारमा पनि सरकारी कर्मचारीलाई विभिन्न मितिमा विभिन्न स्थानबाट पक्राउ गरी मुद्दा दायरको लागि केन्द्रीय कार्यालयमा पठाएको छ । अख्तियार इटहरीको कार्यालयमा एक आर्थिक वर्षमा १ हजार ३८ वटा उजुरी दर्ता भएका थिए ।

जसमध्ये १ हजार ११ वटा फछ्र्यौट भएको कार्यालयले जनाएको छ । ३७ वटा उजुरी चालु आर्थिक वर्षको लागि सरेका छन् । आर्थिक वर्षमा ४८.५८ प्रतिशत उजुरी फछ्र्यौट भएको कार्यालय प्रमुख खतिवडाले जानकारी दिए । आर्थिक वर्षमा घूस रकमसहित पक्राउ पर्नेमा सहायक स्तरका १० जना, अधिकृत तहका ५ जना र अन्य ५ जना रहेका छन् ।

अघिल्लो आर्थिक वर्षमा इटहरीस्थित अख्तियारको कार्यालयले २० वटा स्टिङ अप्रेसनमा २४ जना सरकारी कर्मचारी पक्राउ गरेको थियो । अख्तियार इटहरीले दिएको जानकारीअनुसार मोरङमा ८ वटा स्टिङ अप्रेसनमा ९ जना कर्मचारीलाई रङ्गेहात पक्राउ गरेको थियो ।

त्यस्तै सप्तरीमा ५ वटा स्टिङ अप्रेसनमा ५ जना, सुनसरीमा ३ वटा अप्रेसनमा पाँच जना, भोजपुरमा २ वटा अप्रेसनमा २ जना, झापामा एक अप्रेसनमा १ जना र ताप्लेजुङमा १ स्टिङ अप्रेसनमा २ जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा सहायक स्तरका १७ जना, अधिकृत स्तरका ४ जना सरकारी कर्मचारी, एक जना जनप्रतिनिधि र अन्य २ जनालाई रङ्गेहात घूस रकमसहित पक्राउ गरेको आयोगको कार्यालयले जनाएको छ ।

इटहरीस्थित आयोगले घूससहित पक्राउ गरेका र उजुरी परेकामाथि अनुसन्धान पूरा गरी केन्द्रीय कार्यालयमा पठाउने गरेको र अख्तियारको केन्द्रीय कार्यालयले विशेष अदालतमा मुद्दा दायर गर्ने गरेको छ । अख्तियारले घूस माग्नेलाई रङ्गेहात पक्राउ गर्न सेवाग्राहीको भेषमा स्टिूङ अप्रेसन गर्दै आएको थियो ।

तर, केही महिनाअघि सर्वोच्च अदालतले एउटा संवैधानिक निकायले आफै घूस दिएर पक्राउ गर्ने कदम अवैधानिक भएको भन्दै स्टिूङ अप्रेसन नगर्न आदेश दिएको थियो । त्यसपछि हाल अख्तियारले आफै पैसा दिएर स्टिङ अप्रेसन नगर्ने तर, सेवाग्राहीसँग घूस माग्नेलाई पक्राउ गर्ने गरेको इटहरी कार्यालयले जनाएको छ ।