वेलका नगरपालिकाको ऐतिहासिक, धार्मिक, पर्यटकीय तथा किरात उद्गम स्थल मैनामैनीमा निर्माणधीन सुँगुरको प्रतिमा विवादित बन्दै गएको छ । सामाजिक सञ्जालमा  ‘भाइरल’ भएपछि नगरप्रमुख दुर्गाकुमार थापाले योजनाअनुसारकै निर्माण कार्य हुने बताए । 

बेलका नगरपालिकाबाट विनियोजित ६० लाख रुपैयाँ बजेटमा ‘कोशी नदीमा फाल हान्न लागेको वराह (बँदेल) को प्रतिमा निर्माण गर्ने’ निर्णय भएको थियो । हाल ७५ प्रतिशतमात्रै निर्माण भएको भनिएको प्रतिमा ‘लोकल जातको सुँगुर’ बनेपछि विवादित भएको छ । 

सामाजिक सञ्जालमा मतमतान्तर र विरोध–समर्थनमा स्थानीय सरोकारवाला र सञ्जाल प्रयोगकर्ताहरुले टिप्पणी गरेका छन् । 

बेलका नगरपालिकाले नगरकै दुर्गम अवस्थामा रहेको वडामा विकासका लहरहरु  पुर्याइरहेको छ । खानेपानी, बिजुली, बाटोघाटो, अस्पताललगायतका संरचना निर्माण गरिरहेको छ । यसैक्रममा थप पर्यटकीय विकासका लागि शास्त्रीय आधारमा वराहको प्रतिमा बनाउने निर्णय भएको थियो । 

MainaMaini_Sugur_Blastkhabar

वराह पुराणलगायतका शास्त्रअनुसार पृथ्वी रसातालमा भासिएको र त्यसको उद्धार गर्न विष्णु भगवानले वराह (बँदेल) को स्वरुप धारण गरेका छन् । रसातालमा भासिएको पृथ्वीलाई उद्धार गर्न मैनामैनी डाँडाबाट कोशी नदीमा फाल हानेको शास्त्रीय मत पाइन्छ । सोही किंवदन्तीअनुसार मैनामैनीमा कोशीमा फाल हान्नै लागेको जस्तो देखिने वराहको प्रतिमा बनाइने निर्णय भएको थियो । तर प्रतिमा निर्माण गर्दा उभिरहेको गतिलो देखिने ‘लोकल सुँगुर’ को प्रतिमा बनेपछि सार्वजनिक टिप्पणी सुरु भएको हो । 

नगर प्रमुख दुर्गाकुमार थापाले १२ फिट अग्लो, १६ फिट लामो प्रतिमा ६० लाखमा निर्माण हुने बताए । ‘ढलोटको बन्ने हो भने त ६ करोडसम्म लाग्न सक्छ,’ नगर प्रमुख थापाले भने, ‘काठमाडौंदेखि यहाँसम्म ल्याउँदा  ६० लाखमा धन्न बनेको छ भन्नुस्, मूर्ति कतिमा बन्छ मान्छेलाई थाहै छैन ।’

उनले पर्यटन प्रवर्द्धनका लागि बँदेलको प्रतिमा निर्माण गरिएको बताए । ‘मूर्ति कम्लेट भएकै छैन, २५ प्रतिशत काम बाँकी नै छ,’ नगर प्रमुख थापाले भने, ‘दारा हाल्नै बाँकी छ, पृथ्वी हाल्नै बाँकी छ, बँदेलजस्तै हुन्छ ।’

विवाद आएपछि नगर प्रमुख थापाले कुरो मिलाउन खोजेको टिप्पणी भएको छ । उनले वराहक्षेत्रमा आउने पर्यटकलाई मैनामैनीतर्फ आकर्षित गर्ने लक्ष्य रहेको बताए । ‘वराहको उत्पत्ति पहिले मैनामैनीमा भएको प्रचार गर्ने र वराहक्षेत्रमा आउने धार्मिक पर्यटकलाई आकर्षित गर्ने हाम्रो लक्ष्य छ,’ नगर प्रमुख थापाले भने, ‘मूर्ति वराहक्षेत्रबाट पनि देख्न सकिन्छ ।’

sugur mainamaini

नेकपा एमालेका स्थानीय नेता मेसन राईको परिवारले झण्डै ३ कट्ठा जग्गा १५ लाख रुपैयाँ मूल्य बराबरको दान गरेको नगर प्रमुख थापाले बताए । 

मूर्तिको बाँकी रहेको केही पार्ट्सहरू हाल्न बाँकी छ, रङ रोगन गर्न बाँकी छ, यो सबै हालिसके पछि पूरै बङगुर बन्छ । त्यही बङ्गुरले वराह मूर्तिको रुप लिन्छ, नेकपा एमालेका स्थानीय नेता गणेश बस्नेतले भने, ‘पर्यटन प्रवर्धनका रूपमा मैनामैनी विकास गर्न खोजिएको हो, यसलाई सुङ्गुरको मूर्तिमात्र देख्नु भएन ।’

उदयपुर जिल्लामै राम्राे छवी भएका स्थानीय युवा नेता,  समाजसेवी जीवन्त राईले योजनाअनुसार निर्माण कार्य नहुँदा विवाद आएको बताए । बेलका नगरपालिकाको वडा नम्बर सातमा पर्ने यो क्षेत्रमा  ९० प्रतिशत बढी राई जातिको बसोबास रहेको वडाध्यक्ष सुरेन्द्र राईले बताए । बेलका सरकारले मैनामैनीलाई किरात आस्था केन्द्रको रुपमा विकास गर्ने योजनाका साथ पर्यटन केन्द्रको रुपमा विकास गर्न लागि परेको उनले बताए ।