जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लामा पुनः मास्क अभियान थालेको छ । 

जिल्लाभित्र बढ्दो क्रममा रहेको सङ्क्रमण दरलाई मध्यनजर गर्दै केही दिन अघिबाटै सुनसरीमा अभियान थालेको प्रहरीले जनाएको छ । 

सङ्क्रमण दर बढ्न थालेसँगै फेरि मास्क अभियानलाई तीव्रता दिइएको सुनसरी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाभित्र तेस्रो लहरको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मास्क अभियानलाई तीव्रता दिइएको हो । 

पछिल्लो पटक प्रहरीले पुनः थालेको सचेतना अभियानअन्तर्गत इनरुवाको कार्यक्रममा वडा अध्यक्ष र उद्योग वाणिज्य संघका पदाधिकारी समेत सहभागी भएका छन् । प्रहरी निरीक्षक मिना राई नेतृत्वको टोलीले इनरुवाबाट तेस्रो चरण लक्षित गरी औपचारिक रुपमा माक्स सचेतना अभियान थालेको हो ।

सुनसरी प्रहरीका अनुसार जिल्लामा सकृय सङ्क्रमितको संख्या २ हजारको हाराहारीमा रहेको छ । सुनसरी प्रहरीले जिल्लाका कतिपय स्थानीय तहले सङ्क्रमित क्षेत्र सिल समेत गरिरहेको हुँदा सङ्क्रमण दरलाई सामान्य ठान्न नहुने भनेको छ ।

कोरोनाको ग्राफ पुनः बढ्दो क्रममा देखिएकाले अभियानलाई तीव्रता दिनु जरुरी ठानिएको प्रहरीको भनाइ छ । सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापाका अनुसार मास्क अभियानलाई मातहतका कार्यालयमार्फत् जिल्लाभर सञ्चालनमा ल्याइने छ । 

सुनसरीमा यस अघि नै डीसीसीएमसीको बैठकले सर्वसाधारण्को बढ्दो हेलचेक्र्याइँ र असावधानीसँगै सङ्क्रमण दर बढेको निश्कर्ष निकालिसकेको छ । स्वास्थ्य कार्यालय सुनसरीले समेत निषेधाज्ञा खुकुलो भएसँगै भीडजन्य गतिविधि बढ्दै जाँदा सङ्क्रमण बढ्न थालेको बताइसकेको छ ।