बराहक्षेत्रवासीलाई बाघ खोलाले बर्सेनी दुःख दिन्छ । पानी पर्नासाथ बाघ खोला बहुलाएर आउँछ । बाघ खोलाको बितण्डाका कारण धरान चतरा गर्ने यात्रुहरुले सास्ती खेप्दै आउनु परेको छ । 

शिक्षा, स्वास्थ्य, रोजगार र बजारका लागि धरानमा आश्रित वराहक्षेत्र, चतरा र उदयपुरको रामपुरसम्मका मान्छेले बाघ खोलाकै कारण सास्ती खेप्दै आएका छन् । 

बाघ खोलासँग पौंठेजोरी खेलेकै कारण कतिले आफ्ना सवारी गुमाएका छन् । कति मान्छे आफैं घाइँते भएका छन् । बाघ खोलाबाट सिर्जित दुर्घटनाका कारण बर्सेनी क्षति पुग्दै आएको छ । 

स्थानीय सरकार आइसकेपछि पनि बाघ खोलाको मति उस्तै छ । धरान चतरा गर्नेहरुको गति पनि उस्तै छ । 

बाघ खोलामा एउटा कजवे पनि बनाउन सकेको छैन राज्यको निकायले । तीन तहका सरकार पनि आँखा चिम्लेर बसेको छ । 

धरान चतरा कालोपत्रे हुने रे भन्ने सुनेका मान्छे बुढा भइसके । तर धरान चतराको यो दुःख समाधान हुन सकेको छैन । बाघ खोलाको दुःखबाट मान्छेले पार पाएका छैनन् ।