राष्ट्रियसभाको आजको बैठकले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७८’ पारित गरेको छ । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त विधेयकलाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गर्दा बैठकको बहुमतले पारित गरेको हो ।

उक्त विधेयक पारित गर्नुपूर्व बैठकमा ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधेयक उपर छलफल भएको थियो । विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै कानूनमन्त्री कार्कीले सङ्घीयताको मर्मअनुरुप उक्त विधेयक सरकारले ल्याएको र यसलाई समयानुकूल व्यवस्थित बनाउँदै लैजानेमा प्रतिबद्धता जनाए । 

मुलुकमा प्राचीनकालदेखि नै वैकल्पिक चिकित्साको प्रयोग हुँदै आएको जानकारी दिँदै मन्त्री कार्कीले यसको व्यावहारिकरूपमा उपयोग गर्नु सबैको दायित्व हुनेमा जोड दिए । उनले यस विश्वविद्यालयमा अध्ययन अध्ययापनसँगै स्वास्थ्य सेवासमेत उपलब्ध हुने र सबै प्रदेशमा आङ्गिक क्याम्पससमेत सञ्चालन हुने जानकारी दिए । 

विधेयक पारित हुनुअघि विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद रामनारायण विडारी आयूर्वेदसम्बन्धी ऐन अत्यावश्यक रहेको बताए । उनले स्वास्थ्य क्षेत्र अस्तव्यस्त रहेको अबस्थामा आर्युवेद अध्ययनलाई प्राथमिता दिने गरी विधेयक आएकोमा सकारात्मक रहेको बताए ।

उनले विधेयकमा आयुर्वेद कारखाना बनाउने, जडीबुटी रोप्ने, विदेशमा औषधि निर्यात गर्ने कुरासमेत उल्लेख रहेकोसमेत बताए । उनले कुलपति प्रधानमन्त्री बनाउने विभिन्न विश्वविद्यालयको अभ्यासबाट विधेयकले फड्को मार्न खोजेको उल्लेख गरे । 

सांसद कोमल ओलीले नेपाल प्रकृति र संस्कृतिमा धनी रहेकाले विश्वविद्यालय धेरै पहिले नै खुल्नुपर्ने थियो भनीन् । उनले प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाएर आएको विधेयकले परिषद्को नयाँ व्यवस्था गरी अध्यक्ष व्यवस्थाको व्यवस्था गर्नु महत्वपूर्ण भएको बताए ।

अर्का सांसद ठगेन्द्रप्रसाद पुरीले विश्वविद्यालयको परिषद् सदस्य लोकतान्त्रिक विधिबाट प्रतिस्पर्धात्मकरुपमा निर्वाचित हुने कुरा निकै सराहनीय रहेको बताए । सांसद उदया शर्मा पौडेलले  महिलालाई उच्च प्रेरणा दिने व्यक्तिका नामबाट विश्वविद्यालय खोल्नु सकारात्मक कुरा रहेको बताए । 

सांसद डा विमला राई पौडेलले यो विधेक धेरै अगाडि आउनुपर्नेमा ढिलै भए पनि आउनु सकारात्मक भएको बताए । सांसद खिमलाल देवकोटाले अब नयाँ विश्वविद्यालय खोल्नुभन्दा भएका विश्वविद्यालयलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । बैठक यही २२ गते दिउँसो १ बजे बस्ने छ ।