सात श्रीमती । १९ छोरा । १२ छोरी । १७ बुहारी । ४७ नाति । ३२ नातिनी । १२ पनाति । १० पनातिनी । छोरीपट्टीका ज्वाइँ र छोराछोरी गणना गर्ने हो भने त दुई सय बढी लालाबाला । 

सन्तानले डाँडाकाँडा ढाकेका लालबहादुर विष्ट (दाङ्खाली बा) को ९० वर्षको उमेरमा गत साउन ७ गते देहान्त भयो । 

दिवंगत दाङ्खाली बाको घर पुगेपछि लाग्थ्यो दुःखद क्षण तर ‘अभूतपूर्व’ कर्म । विदेशमा रहेका ८ छोराबाहेक छोरा–छोरी र बुहारी गरी ४६ जना एकै ठाउँ क्रिया कर्ममा सहभागी छन् ।

११ छोरा, १२ छोरी, १७ बुहारी, ६ आमा एउटै कोरो–ढिकुरोमा छन् ।  

उदयपुरको बेलका नगरपालिका ४ कटारीस्थित विष्ट निवासमा सोमबार १२ औं दिनको कर्म चलिरहेको थियो । कोरोमा बसेका सबैलाई पण्डितले पालैपालो क्रियाकर्ममा सहभागी गराउँदै थिए । 

सानो मूल घर, ठूलो संख्यामा क्रियापुत्री । घर खचाखच देखिन्थ्यो । दुःखको कर्म पनि यसरी उत्साहपूर्वक हुँदैथियो भन्न सकिंदैन तर देखिन्थ्यो त्यस्तै ।

Lal bahadur bista Rampur Udayapur

दिवंगत लालबहादुर विष्टले आफ्नो मूल घरसँगै वरिपरि झण्डै एउटा बस्ती जस्तै निर्माण गरेका छन् । सात श्रीमतीका धनी उनले वरिपरि लस्करै पाँच घरहरु निर्माण गरेका छन् । उनले त्यहाँ आफ्ना इच्छुक परिवारलाई राखेका छन् । क्रियापुत्री बसेका स्वर्गीय लालबहादुरका अठारौं छोरा इन्द्रबहादुर भन्दै थिए, ‘धनका धनी नभए पनि जनका धनी छौं ।’

जनका धनी यो परिवारका पिता लालबहादुर विष्टले राष्ट्रद्वारा विभूषित, समाजसेवी, शिक्षासेवी, राजनीतिज्ञ जीवन बिताए । वि.सं. १९८९ साल फागुन १८ गते तत्कालीन यूँ गाविस हाल आमचोक दाङ्खा भोजपुरमा जन्मिएका उनी ९० वर्षमा प्रवेश गरेका थिए ।

नेपाली कांग्रेस पार्टीबाट राजनीति सुरु गरेका उनी स्वतन्त्रता सेनानीका रुपमा पनि चिनिन्छन् । 

नेकपा एमाले भोजपुर जिल्ला कमिटिका सचिवालय सदस्य खगेन्द्र विष्ट –लालबहादुरका नाति) का अनुसार लालबहादुर यूँ गाविसबाट ४ पटक वडाध्यक्ष भए । पटक -पटक चण्डिबजार व्यवस्थापन समिति  अध्यक्ष भए । थिदिन्खा गाउँ पञ्चायतका दुई कार्यकालका निर्वाचित प्रधानपञ्चसमेत भए । सरस्वती प्रावि, चण्डेश्वरी मावि लगायतका विद्यालय स्थापना गरी संस्थापक अध्यक्ष भए । ०३१ सालमा बयाङ भोजपुरमा प्रहरी चौकी स्थापना गरे । उनले ०४५ सालमा आएको भूकम्पका समयमा जनसेवा गरेवापत् राज्यले भूकम्प सेवा पदकबाट सुशोभित गर्यो । 

Lal bahadur bista Rampur Udayapur 1

बुवा लालबहादुरकै प्रेरणाबाट जेठा छोरा धनकेशर विष्ट भोजपुर जिविसका उपसभापति भए । माइला छोरा टिकाकुमार विष्ट जिविस सदस्य भए । हाल रामकुमार विष्ट आमचोक गाउँपालिका २ का सदस्य छन् । छोराहरुमात्र नभएर नातिहरुसमेत राजनीतिमा सक्रिय छन् । 

‘दुई सयभन्दा बढी सन्तानका मार्ग निर्देशक हुनुहुन्थ्यो हाम्रा हजुरबुवा’ नाति युवराज विष्ट भन्छन्, ‘उहाँ शैक्षिक रुपान्तरणको शिखर व्यक्तित्व हुनुहुन्थ्यो, समाजसेवी, राजनीतिज्ञ पनि हुनुहुन्थ्यो ।’

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई समेत दिवंगत विष्टको आत्मा शान्तिको कामनाका लागि नवौं दिनमा निज निवास पुगे । प्रदेश सभा सदस्यहरु, स्थानीय जनप्रतिनिधिसहितले दिवंगत प्रति श्रद्धाञ्जली अर्पण गरे ।  मुख्यमन्त्री राईले असल अभिभावक गुमाएको बताए । 

46 kriyapurtri 1

शोकाकूल परिवारलाई समवेदना र सहानुभूति व्यक्त गर्दै मुख्यमन्त्री राईले लालबहादुर विष्ट तत्कालीन समाजका अगुवा रहेको उल्लेख गरे ।

कश्यप गोत्रीय घिमिरे विष्ट छेत्री वंश उत्थान केन्द्र नेपालले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारमा संवेदना प्रकट गरेको छ । 

‘वृहत् विष्ट वंश’ लाई एकीकृत र सबल रुपमा व्यवस्थापन गर्ने विषयमा दाङ्खाली बा संवदेनशील भएको केन्द्रले उल्लेख गरेको छ ।

46 kriyapurtri 2