व्यावसायिक शिक्षामा जोड दिनुपर्ने माग उठिरहेका बेला हिमाली जिल्ला सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमस्थित जनता माध्यमिक विद्यालयमा तीनवर्षे बालीविज्ञान शिक्षा शुरु भएको छ । गत वर्षदेखि उक्त शिक्षा शुरु भएपछि सोही विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीदेखि अभिभावकले समेत खुशी व्यक्त गरेका छन् ।
पूर्वविद्यार्थी रामकिरण राईको अध्यक्षतामा बालीविज्ञान शिक्षा सञ्चालनका लागि सहयोग सङ्कलन अभियान नै चलाइएको छ । जनता माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी मञ्च गठन गरी काम गरिरहेको उक्त समूहले हालसम्म रु १० लाख आर्थिक सहयोग सङ्कलन गरेको जनाएको छ ।
उक्त रकम शनिबार विद्यालयका प्रधानाध्यापक हस्तबहादुर राईलाई हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष राईले जानकारी दिए ।
सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राई (शुरवीर) तथा थुलुङदूधकोशी गाउँपालिका अध्यक्ष असिम राईलगायतको उपस्थितिमा उक्त रकम बराबरको चेक विद्यालयलाई हस्तान्तरण गरिएको मञ्चले जनाएको छ ।
गाउँपालिकाको विशेष पहलमा थुलुङ दूधकोशी–९ मा बालीविज्ञान र वडा नं ६ मुक्लीमा तीनवर्षे प्राविधिक शिक्षाको पढाइ हुन थालेपछि स्थानीयवासी हर्षित भएका छन् । पूर्वविद्यार्थीसमेत रहनुभएका तेञ्जी शेर्पाले प्राविधिक शिक्षा लिने चाहना भए पनि आर्थिक अवस्थाकै कारण बञ्चित भएकाले आगामी पुस्ताका लागि सहज भएको बताए ।
छिमेकी जिल्ला खोटाङको बाकाचोलसँग सीमा जोडिएको उक्त वडामा बालीविज्ञान पढाइ हुन्छ भन्ने कमैले सोचेको तर अहिले दङ्ग परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तरकुरवीर राईले बताए । ‘अब गाउँघरकै ढिँडो र रोटी खाएर शिक्षा लिन पाउने अवसर मिलेको छ’, उनले भने, ‘सोलुखुम्बुको मात्र होइन छिमेकी जिल्लाका भाइबहिनीका लागि पनि सुनौलो भविष्यको ढोका खुलेको छ ।’
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त गरी गत शैक्षिक सत्रदेखि पढाइ शुरु भएको विद्यालयका प्रधानाध्यापक हस्तबहादुर राईले जानकारी दिए । विगतका दिनमा लाखौँ खर्च गरेर रामेछापको जिरीसम्म पुगेर बाली विज्ञानको शिक्षा लिनुपर्ने अवस्था थियो ।
यता गाउँपालिका अध्यक्ष राईले जिल्लामै पहिलो पटक आफूहरुले गाउँमा बालीविज्ञानसँगै बहुप्राविधिक शिक्षालय सञ्चालन गरेको बताए । नेपालको बढ्दो बेरोजगारीको सङ्ख्या कम गर्ने उद्देश्यअनुरूप व्यावसायिक शिक्षामा जोड दिएको उल्लेख गर्दै अध्यक्ष राईले जिल्लामा मात्र नभई देशलाई नै आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने गरी स्थानीय सरकारले काम गरिरहेको बताए ।