प्रदेश १ को प्रदेशसभाको बैठक आउँदो बिहीबारका लागि आह्वान गरिएको छ ।

गत असार २५ गते प्रदेश सरकारको बजेट पारित भएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले साउन २१ गते दिनको १ बजेको लागि प्रदेशसभा बैठक बस्ने आइतबार जानकारी गराएका हुन् ।

प्रदेश सरकारले यही अधिवेशनबाट प्रदेशको नामकरण टुङ्गयाउने तयारी थालेको छ । मुख्यमन्त्री शेरधन राईले सरकारका तर्फबाट प्रदेशको नामकरण टुङ्गयाउने तयारीका साथ केही दिन अघिमात्र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच परामर्श गरेका थिए ।

विपक्षी दलहरुले यस विषयमा आन्तरिक छलफल गर्नुपर्ने भन्दै सरकारसँग समय माग गरेका थिए । मुख्यमन्त्री राईले दलहरूसँगको सहमतिमा यही अधिवेशनबाट प्रदेशको नामकरण टुङ्गयाउने पक्षमा आफु रहेको बताउँदै आएका छन् ।