अत्याधुनिक हातहतियार बोकर मोरङको सुन्दरहरैंचा १० स्थित सुनचाँदी पसल लुटपाटको प्रयास गर्ने गिरोहका थप एक सदस्यलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । 

लुटपाट आतंक मच्चाउँदै आएको माओवादीका पूर्वलडाकु र नेपाली सेनाका पूर्व जवान सम्मिलित हतियारधारी आपराधिक गिरोहका सदस्य सुनसरीको गढी गाउँपालिका–५ का ३३ वर्षीय आशिष चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । 

चौधरीलाई सुनसरीको झुम्कादेखि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । 

अत्याधुनिक एवं स्वचालित हतियारको प्रयोग गर्दै लुटपाट आतंक मच्चाउने गिरोहका सात जनामध्ये ६ जनालाई पक्राउ गरी गत बुधबार मोरङ प्रहरीले सार्वजानिक गरिसकेको छ । 

सो समूहका सदस्य चौधरी फरार थिए । ‘फरार भएका चौधरीको खोजी कार्य तीव्र बनाएका थियौं । ’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठले भने । 

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० विराट चोकस्थित त्रिवेणी टोलको सुनचाँदी पसलमा साउन १ गते दिउँसो सामूहिक लुटपाट प्रयासको घटनामा चौधरीको संलग्नता पुष्टि भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार खगेन्द्र थापाले सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्समा अत्याधुनिक हतियार एसएमजी (मेसिनगन) र पेस्तोलसहित आएको सात जनाको समूहले लुटपाटको असफल प्रयास गरेको थियो ।

‘लुटपाटको योजनासहित सरासर आएर दुई जना व्यक्ति पसलभित्र छिरे । पछिपछि आएका अर्का भने पसल बाहिरै ‘रेकी’ गर्दै वरपरको अवस्था विचार गरेर बसेका थिए,’ डीएसपी श्रेष्ठले भने, ‘बाहिरै बसेकाले घटनास्थलमा भेला भएका स्थानीयलाई कम्मरबाट निकालेर पेस्तोल ताक्दै आतंकित पारेको फुटेजमा प्रष्टसँग देख्न सकिन्छ । पक्राउ परेका चौधरी तिनै व्यक्ति भएको खुलेको छ ।’

गिरोहसँग सुरक्षाकर्मीको विशेष टोलीले मात्रै प्रयोग गर्न पाउने अत्याधुनिक हतियार एसएमजी र पेस्तोल तथा ठूलो परिणामको गोली र म्यागजिन प्रहरीले फेला पारेको थियो । 

यसअघि पक्राउ पर्नेमा संखुवासभाको सभापोखरी गाउँपालिका–४ घर भई सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा डेरा गरी बस्दै आएका ३९ वर्षीय चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका–१ का ४५ वर्षीय डाइमण्ड भनिने प्रमोद चौधरी र संखुवासभाको बाह्रबिसे घर भई तरहरामा बस्दै आएका ३० वर्षीय चिरञ्जिवी राई छन् ।

त्यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का २२ वर्षीय मिसन राई, सुन्दरहरैँचा–७ का ३१ वर्षीय सन्तोष राई र भोजपुरको पैवादुम्मा गाउँपालिका–३ घर भइ तरहरामा बस्दै आएका ३० वर्षीय नगेन्द्र राई पनि पक्राउ परेका हुन् । 

चन्द्रबहादुर नेपाली सेनाको शेरजंग गणमा कार्यरत पूर्वजवान र प्रमोद माओवादीका पूर्वलडाकु रहेको खुलेको छ । उनीहरु सबै खाले हतियार चलाउन सक्ने तालिम प्राप्त व्यक्तिहरु हुन् । 

पक्राउ परेकाहरुको साथबाट एउटा एसएमजी, म्याग्जीन, ६२ राउण्ड गोली, दुईवटा पेस्तोल, पेस्तोलको दुई र थ्री नट थ्री राइफलको चार राउण्ड गोली तथा दुईवटा सञ्चार सेट बरामद भएको थियो । 

घटनामा प्रयोग गरिएको हतियार र गोली सुन्दरहरैँचा–५ स्थित नमूना सामुदायिक वनमा रहेको करमको रुखको टोड्काभित्र कार्टुन टेपले बाँधेर लुकाएको अवस्थामा बरामद भएको थियो । 

पक्राउ परेका सबै जनाविरुद्ध प्रहरीले हातहतियार खरखजना, डाँका, ज्यान मार्ने उद्योग र संगठित अपराधसहित चारवटा कसूरमा मुद्दा चलाउन म्याद थप गरेर घटनाका बारेमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।