आसाम र मिजोर प्रहरीका बीच २६ जुलाईमा हिंसात्मक झडप भयो । यो घटनामा आसामका सात प्रहरीले ज्यान गुमाए । संघर्षपछि दुई राज्य सरकारबीच आरोप–प्रत्यारोप जारी छ । यही सिलसिलामा मिजोरम सरकारद्वारा यो कारबाही सार्वजनिक गरिएको छ । 

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार आसाम–मिजोरम विवाद सुल्झिने छनक देखिएको छैन । मिजोरममा आसामका मुख्यमन्त्री हेमन्तविश्व शर्माविरुद्ध एफआईआर दर्ता भएको छ । कोलासिबमा दर्ता भएको जाहेरीमा यस अघि दुबै राज्यका प्रहरीले एकअर्काका प्रहरी अधिकारी विरुद्ध नोटिस जारी गरिसकेको छ । 

मिजोरम प्रहरीले आसामका मुख्यमन्त्रीका विरुद्ध २६ जुलाईमा भएको झडपमा हत्याको प्रयास, आपराधिक षडयन्त्रको आरोपसहित मुद्दा दर्ता गरेको छ । हेमन्तविश्व शर्मासँगै मिजोरम प्रहरीले आसामका चार प्रहरी अधिकारी र दुई कर्मचारीको नाम एफआईआरमा उल्लेख गरेको छ  । यसबाहेक दुई सय प्रहरी कर्मचारीको नाम पनि मुद्दामा समावेश गरिएको बताइएको छ । 

के भन्छ मिजोरम प्रहरी ?

मिजोरम प्रहरीले दर्ता गरेको जाहेरीमा हतियारी धारी दुई सय प्रहरीले आईजीपीको नेतृत्वमा २० जना मिजोरम प्रहरी अधिकारीमाथि आक्रमण गरेको उल्लेख छ । मिजोरम प्रहरी क्याम्पलाई आरक्षित वनमाथिको अतिक्रमणको आरोप लागाउँदै जबरजस्ती कब्जा गर्ने प्रयास गरेको उल्लेख छ । 

एफआईआरका अनुसार मिजोरम प्रहरीको संख्या अत्यन्तै न्यून थियो । यस्तो अवस्थामा क्याम्पलाई खाली गराउने प्रयास व्यर्थ थियो । घटनाबारे सूचना पाएर कोलासिबका एसपी घटनास्थलमा कुराकानी आएर कुराकानी गर्ने प्रयास गरेका थिए । तर आसाम प्रहरी सुन्न तयार थिएन । 

आसामका मुख्यमन्त्री दोषीः मिजोरम प्रहरी

आसाम प्रहरीले कुराकानी गर्न नचाहेको र आफूहरुको एउटै कुरो पनि सुन्न नचाहेको मिजोरम प्रहरीको भनाइ छ । कोलासिबका एसपीलाई समेत जबरजस्ती उक्त भूभाग आसामको सीमाक्षेत्रभित्र पर्ने दाबी गरेको थियो । त्यस ठाउँमा लगाइएको क्याम्प आसामका मुख्यमन्त्रीको निर्देशनमा बनाएको उनीहरुको मत थियो । 

दुवै राज्यका प्रहरीद्वारा नोटिश जारी

यस अघि आसाम–मिजोरम सीमा विवादमा आसाम प्रहरीले मिजोरमका ६ अधिकारीलाई नोटिश पठाएको थियो । ती सबै अधिकारीलाई २ अगस्टमा स्थानीय ढोलाई प्रहरी चौकीमा उपस्थित हुनुपर्ने थियो । आसाम प्रहरीले मिजोरम प्रहरीका डिप्टी कमिश्नर र एसपी ओहोदाका अधिकृतलाई नोटिश पठाएको थियो । यसलाई ठूलो कारबाहीका रुपमा हेरिएको छ । 

यता, मिजोरम प्रहरीले आसामका अधिकृतलाई नोटिश पठाउँदै १ अगस्टमा पेश हुन भनेको थियो । मिजोरम प्रहरीले आसामका प्रमुख सचिव र डीजीपीलाई प्रहरी सामु उपस्थित हुन भनेको थियो । 

२६ जुलाईमा भएको थियो झडप

गत २६ जुलाईमा आसाम र मिजोरम प्रहरीबीच हिंसात्मक झडप भएको थियो । यो घटनामा आसामका सात प्रहरी कर्मचारीले ज्यान गुमाएका थिए । यो संघर्षपछि आरोप– प्रत्यारोपको क्रम जारी छ । आसाम सरकारले कारबाही अगाडि बढाइरहेको छ । 

यस अघि मिजोरमका मुख्यमन्त्री जोरामथांगाले आसाम प्रहरीले पहिले गोली चलाएको आरोप लागएका थिए । उनले सीमा क्षेत्रलाई ‘नो ड्रोन जोन’ समेत घोषणा गरेका थिए ।