धरान । छिमेकीको मलामी गएकी धरान–५ तल्लो देउरालीकी मनमाया आङ्बुहाङ लिम्बू चार दिनदेखि बेपत्ता बनेकी छिन् । 

६० वर्षीया लिम्बू इटहरीस्थित बूढीखोलामा छिमेकीको मराउमा मलामी गएकी थिइन् । परिवारका सदस्य डम्बर लिम्बूका अनुसार आमासँग मलामीमै भेट भएर बोलेको थिएँ तर त्यसपछि बेपत्ता बनेकी हुन् । 

मलामी पुगेको करिब १५ मिनेटपछि नै आफू घर फर्किएको साथीहरूलाई जनाउ दिएकी थिइन् तर त्यसयता आमा सम्पर्क बाहिर रहेको जेठा छोरा डम्बर बताउँछन् । मलामीबाट नफर्किएपछि परिवारले साथीभाइ तथा आफन्तकहाँ खोजतलास गरे पनि हालसम्म फेला नपरेको परिवारले जनाएको छ । 

आफन्तकहाँ गएको अनुमान गरी सुनसरी, मोरङ तथा झापामा पुगेर खोजतलास गरे पनि हालसम्म फेला नपरेको पति मानबहादुर सेरेङ चोङबाङले जानकारी दिए । उनका अनुसार घटनाबारे प्रहरीलाई समेत सूचित गरिसकेकाले भेट्ने महानुभावलाई ९८४४५५९३८९ को मोबाइल नम्बरमा फोन सम्पर्क वा प्रहरी कार्यालयमा जानकारी गराइदिन अपिल गरिएको छ ।