धरान उपमहानगरपालिकाले चुरे पहाडमा पर्ने सरकारी वन क्षेत्रमा वातावरण प्रभाव मूल्याडकनसमेत नगरी जथाभावी सडक निर्माण गर्दा हजारौं रुखहरु मासिनुका साथै पहिरो जान थालेकाले दर्जनौं घरहरु जोखिममा पर्न थालेका छन् ।  

धरान १३  स्थित सैनिक  स्कुल पूर्व बस्ने वृषबहादुर राईको घर छेउबाट जेसिबीले खनेर  २५ फिट चौडा बाटो त बनायो तर यो बाटोमाथि पर्ने उनको घर ठूलो पानी पर्ना साथ लड्ने त्रासले उनी सुत्न सकेका छैनन् ।

‘घर नजिक बाटो बनाउछौं भन्दै स्थानीय युवा र वडाध्यक्ष आए, राम्रै होला नि त भनी बनाउ भनियो तर जेसीबीले घरमुनिसम्म खनिदिएर हाम्रो घर त धरापमा पो पर्यो,’ राईले भने, ‘अलिक ठूलो पानी पर्यो कि डर–चिन्ताले सुुुत्नै सकिंदैन ।’

यस्तै चिन्ता धरान ५ स्थित देवी गाउँ बस्ने डोरमणि दाहाललाई पनि परेको छ । १ नं. प्रदेश सरकारले गौरवको बाटो भन्दै झण्डै ४५ करोडको बजेटमा गत वर्षदेखि निर्माण गर्न थालिएको देवी गाउँदेखि धनकुटाको कन्यापोखरीसम्मको सडकको छेवैमा उनको घर गोठ परेको छ । 

गाउँमा बाटो आउने भयो भनी मख्ख परेका दाहाललाई त्यति बेला चिन्ता लाग्न थाल्यो जब उनको घरको कान्ला मुनि बाटो खनेर घर जोखिममा परेको थाहा भयो ।  

 अहिले जताजतै चुरे क्षेत्रमा बसेका स–साना गाउँमा बाटो पुर्याउने, खोलाको ढुङ्गागिटी ठेक्का लगाउने होडबाजीमा प्रदेश सरकार र स्थानीय तहहरुको तँछाड–मछाडले वातावरण विनाश भई बाढी पहिरोको ठूलै त्रास बढ्न गएकामा वातावरणविद्हरुले चिन्ता व्यतm गर्न थालेका छन् । 

हाल धरानमा बस्दै आएका विश्व प्रकृति सरक्षण संघ – आईयुसीएन नेपालकाका पूर्व संयोजक  तथा वातावरणविद् राजेन्द्र खनाल  भन्छन्, ‘वातावरण प्रभाव मूल्याङ्कनसमेत नगरी निर्माण भइरहेका यस्ता सडकहरुले विकास त हैन ठूलै विनास ल्याएको छ ।’

स्थानीय सरकारको यस्ता गैरजिम्मेवार कृयाकलाप तुरुन्त रोकिएन भने वातावरण प्रभावको असर स्वरुप बाढी, पहिरो र भूक्षयले धेरै ठूलो धनजनको क्षति हुने चेतावनी दिन्छन्, वातावरणविद् खनाल । 

स्थानीय सरकार, प्रदेश र संघीय सांसदले बजेट सक्न र चुनावलाई प्रभाव पार्न देखाएको उत्ताउलो विकासे कामले वन विनाश भइरहेको छ । 

आईईई बिना ३० फिटे बाटो 

धरान–४ स्थित शिवजट्टा मन्दिर जाने १५ फिटको सानो बाटोलाई जेसिबीले खनेर ३० फिटको बनाएको छ । तर विना योजना जेसिबीको चालकले खनेको सो बाटोका कारण अहिले ठाउँ–ठाउँमा पहिरो गएको छ । 

पहिरोले ठूला ढुङ्गा र रुखपात लडारहेको छ । हिलाम्मे र खाल्डाखुल्डी बाटोका कारण हिंड्नै मुस्किल परेको स्थानीय रितुषा राई बताउँछिन् । 

‘बरु यो बाटो नबनाउँदा नै हाम्रो ट्याम्पो मोटरसाइकल मजाले आउँथ्यो अहिले त हिलो बाटो र ढुङ्गा पन्छाउँदै आउनु पर्छ ।’ रितुषाले भनिन् ।

हाल सो बाटो निर्माणले गर्दा हजारौं रैथानै बोट–बिरुवाको विनाश भएको छ । लडेका रुखपात वन कार्यालयले नउठाउँदा सडक छेउछाउ नै कुहिने अवस्थामा पुगेको छ ।  

मुस्किलले ३० घर परिवार बसोबास गर्ने शिवजट्टा गाउँमा पुग्न ३० फिटको बाटोका आवश्यकता थियो कि थिएन ? सडक निर्माणका लागि बजेटको तर्जुमादेखि वातावरण प्रभाव मूल्याङ्कन गर्नु पर्थ्यो कि पर्दैन थ्यो भन्ने प्रश्नमा  धरान उपमहानगर पालिका प्राविधिक फाँटका ईञ्जिनियर सुरज श्रेष्ठ भन्छन्,– ‘त्यहाँ ३० फिटको बाटो बनाउने कुनै योजना र आईईई भएको छैन, हामीले भत्किएको सडकको छेउछाउ ग्याबिन लगाउन १० लाख बजेट दिएका मात्र हौं ।’ 

चुरे दोहनमा स्थानीय सरकारको ज्यादति

धरान उपमहानगरपालिकामा भइरहेका चुरे दोहनलाई रोक्न डिभिजन वन कार्यालय सुनसरीसमेत लाचार भएको छ । डिभिजन वन कार्यालय सुनसरीका प्रमुख डिएफओ दानबहादुर श्रेष्ठले धरानका मेयर, उपमेयरदेखि वाक्क दिक्क भइसकेको प्रतिक्रिया दिएका छन् । 

चुरे क्षेत्र दोहन नगर्नका लागि पाँच पटक कर्मचारी पठाएर नियन्त्रण गर्ने प्रयास गरेको, जेसिबीहरु समेत नियन्त्रणमा लिँदा पनि अटेरी गरेको बताए । ‘ यो प्रतिक्रिया धरानका मेयर र उपमेयरसँग लिनु होला, स्थानीय तहको सरासर ज्यादति छ, हाम्रो कर्मचारीको कुनै संलग्नता छैन,’ डिएफओ श्रेष्ठले भने, ‘पाँच पल्ट कर्मचारी पठायौं, जेसिबी समात्यौं, म वाक्क भएँ । जबरजस्ती चुरेमा बाटो नखनौं भनेको उहाँहरु मान्नु हुन्न, हाम्रो शतप्रतिशत आपत्ती छ ।’

उपमेयरसँग बारम्बार सम्पर्क गर्दा पनि दोहन नरोकिएको डिएफओ श्रेष्ठ बताउँछन् । उनले उपमेयरसँग यस बारे प्रतिक्रिया लिंदा राम्रो हुने सञ्चारकर्मीलाई सुझाव दिए । उनले भने, ‘चुरे दोहनमा स्थानीय सरकारको ज्यादति छ ।’