पछिल्लो समय कोरोना भाइरसको संक्रमण उच्च रहेको झापाका १० वटा स्थानीय तह ‘सिल’ गरिएको छ ।

केही दिनदेखि झापामा कोरोना संक्रमण बढ्दो अवस्थामा छ । झापाका मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोरोना फैलन नदिन र रोकथामका लागि सिलबन्दी गरिएको हो । 

१५ पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा सिलबन्दी गर्ने बारेमा जनप्रतिनिधिले छलफल गरिरहेका छन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले संक्रमण बढिरहेमा सम्बन्धित पालिकाले नै आवश्यकतानुरूप सिलबन्दीको निर्णय गर्नसक्ने बताए । 

‘जिल्ला कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको सहमतिमै पालिका तहमा सिलबन्दी गर्न थालिएको हो,’ प्रजिअ तिम्सिनाले भने, ‘सर्वसाधारण, व्यवसायी र पेशाकर्मीहरु सबैलाई सिलबन्दी र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न अपिल गरिएको छ ।’

सिलबन्दीको अवधिमा अत्यावश्यक सूचीका सवारी साधनबाहेक सबै यातायातका साधनको आवतजावतलाई रोक लगाइएको, बजार बन्द गरिएको र सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध गरिएको बिर्तामोडका नगरप्रमुख ध्रुव शिवाकोटीले बताए ।

झापामा विगत दुई सातादेखि कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ । बजार र सरकारी कार्यालयहरुमा सर्वसाधारणको घुइँचो बढेको थियो । हरेक पालिकाले सात दिनको अवधि तोकेर सिलबन्दीको घोषणा गरेका छन् । राजमार्गबाहेक भित्री सडकमा सार्वजनिक तथा निजी यातायातका साधन गुडेका छैनन् ।

कोभिड–१९ को संक्रमणबाट बच्नका लागि हरेक व्यक्ति आफैँ सचेत हुनुपर्नेमा लापरवाही गरिरहेका कारण संक्रमितको दर बढ्दै गएको पालिकाहरुको ठहर छ । सामान्य स्वास्थ्य मापदण्डसमेत पालना नगरी सर्वसाधारणहरु बिनाकाम घुम्ने गरेको पाइएपछि सामाजिक सञ्जाल, विभिन्न सञ्चारमाध्यम र माइकिङ गरेर सचेतना अपनाउन आग्रह गरिएको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीको भनाइ छ । 

जिल्लामा सबैभन्दा पहिले बुद्धशान्ति गाउँपालिकाले आफ्नो क्षेत्रमा सिलबन्दी घोषणा गरेको थियो । त्यसपछि आइतबार, सोमबार र बुधबारदेखि थप पालिकामा सिलबन्दी गरिएका छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापामा दुई सय ६६ कोरोना संक्रमित थपिएका छन् । पालिकाहरु सिल गरिए पनि पूर्व–पश्चिम राजमार्गमा चल्ने सवारी साधनमा भने रोक नलगाइएको प्रअिज तिम्सिनाले बताए । 

– रासस