श्रीमान श्रीमतीको सामान्य विवादबाट उत्पन्न झगडाका कारण छिमेकीको शरीरमा एसिड आक्रमण भएको छ । 

श्रीमती सरस्वती राजधामी (बस्नेत ) सँग बेलुका घरायसी कुरामा विवाद उत्पन्न भएपछि  बराहक्षेत्र–३ हर्दियाका ३१ वर्षीया रोमन राजधामीले मार्छु  भन्दै धम्की दिएपछि सरस्वती छिमेकीको शरणमा पुगेकी थिइन् । 

शरण लिएकै घरमा गई सरस्वतीमाथि आक्रमण गर्ने क्रममा रोमनले  छिमेकी ४३ वर्षीया श्यामुमारी राजधामीमाथि नै एसिड आक्रमण गरेको इलाका प्रहरी कार्यालय चक्रघट्टीले जनाएको छ । 

प्रहरीका अनुसार छिमेकमा लुकेर ढोका थुनेर बसेकी श्रीमतीलाई  खोज्दै जाँदा रोमनले ढोका ढकढक गरेपछि छिमेकी श्यामकुमारीले ढोका खोलिनन् । ढोका नखोलेपछि रोमन ढोका फोरेर घरभित्र पसेर श्रीमतीलाई शरीरमा एसिड हाल्न खोज्दा छिमेकी श्यामकुमारीले बचाउन खोजेपछि श्यामकुमारीको हात, शरीर र टाउकामा एसिड खन्याइदिएका छन् । झगडा छुट्याउन खोज्दा श्यामकुमारीका छोरा सुनिल राजधामीको हात र छातीमासमेत एसिड परेको छ । 

सुनिल अहिले सामान्य उपचार पछि घरमै छन् । इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रमुख पाण्डव राजवंशीले एसिड प्रहार गर्नेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको जानकारी दिए । 

पीडित श्यामकुमारीको सहयोगमा राति ११ बजेदेखि  प्रहरीको टोली र गाउँलेको सहयोगमा राति १ बजे सम्म खोजी गर्दा पनि फरार भएकालाई भेटाउन नसकेको प्रहरीको भनाइ छ । 

फरार राजधामीले आफ्नै घरमा पितलबाट बनाइने त्रिशुल, बालालगायतका सामग्री निर्माण गर्दै आएका थिए । निर्माण सामग्रीका लागि एसिड आवश्यक हुँदा उनकै घरमा एसिड उपलब्ध थियो । 

एसिड आक्रमणमा परेकी श्यामकुमारीलाई कालाबञ्जारमा प्राथमिक उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । बिरामी बोल्न, हिंड्न नसक्ने अवस्थामा रहेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । धरानमा उपचार गर्न नसकेपछि बुधबार बिहान ११ बजे म्याक्स हस्पिटल विराटनगर लगिएको श्यामकुमारीका छोरा सुनिल राजधामीले बताए ।

‘केही वर्षदेखि मादक पदार्थ सेवन गरी रातको समयमा मानसिक तनाव दिने र कुटपिट गर्ने गरेको आरोपी रोमनकी श्रीमती सरस्वती राजधामी (बस्नेत) ले बताइन् । ‘प्रहरीमा उजुर गर्छु भन्दा झन् कुट्ने एसिड छर्की दिन्छु भनेर तनाव दिइरहन्थ्यो ।’ सरस्वतीले भनिन् ।  

फरार रहेकाको घरमा गस्ती खटाइएको र खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर पाण्डव राजवंशीले जानकारी दिए ।