सुनसरी । सुनसरी जिल्लाका ग्रामीण क्षेत्रमा अधिकांश पसलहरू गैरकानूनी रूपमा सञ्चालन भइरहेको पाइएको छ । जिल्लाका कोशी, भोक्राहा नरसिंह, बर्जु, गढी, हरिनगर, देवानगञ्जलगायतका स्थानीय तहमा सञ्चालित विभिन्न पसलहरू गैरकानूनी रूपमा सञ्चालन भइरहेको गुनासो आएको हो ।

केही समयअगाडि कोशी गाउँपालिकाकी उपाध्यक्ष तथा बजार अनुगमन समितिकी संयोजक अनितादेवी यादवको नेतृत्वमा गरिएको बजार अनुगमनको क्रममा समेत कोशी गाउँपालिका क्षेत्रमा सञ्चालनमा रहेका पसलहरू गैरकानूनी रूपमा सञ्चालनमा रहेको पाइएको थियो ।

बजार अनुगमनका क्रममा कोशी गाउँपालिका वडानम्बर ८ भण्टाबारी र कोशी ब्यारेज क्षेत्रमा सञ्चालनमा रहेका अधिकांश पसलहरूमा म्याद गुज्रेका सामान बिक्री गरिनुका साथै दर्ता नै नगरी गैरकानूनी रूपमा सञ्चालनमा रहेको पाइएको कोशी गाउँपालिकाकी उपाध्यक्ष यादव बताउँछिन् ।

कोशी क्षेत्रका विभिन्न ३० पसलहरूमा अनुगमन गरिएकोमा अधिकांश दर्ता बिना नै सञ्चालनमा रहेको पाइएकाले ती पसल सञ्चालकहरूलाई पसल कानूनी रूपमा दर्ता गरी व्यवस्थित गर्न निर्देशन दिइएको उनले बताइन् ।

कहिलेकाहीँ मात्र बजार अनुगमन हुँदा जिल्लाका अधिकांश स्थानीय तहका विभिन्न क्षेत्रमा सञ्चालनमा रहेका पसलहरू गैरकानूनी रूपमा सञ्चालनमा रहेको स्थानीय बताउँछन् । सुनसरी र सप्तरी जिल्लास्थित कोशी ब्यारेज क्षेत्रमा कोशीको नाम बेचेर भारतीय माछा व्यापार गरिँदै आएको स्थानीय सुरज राउतले गुनासो गरे । स्थानीय तहका जनप्रतिनिधि र सरकारी अनुगमन टोलीले घुमेर अनुगमन गरेर ढोल पिट्ने काम मात्र भएको स्थानीयको आरोप छ ।

सरकारी निकायले सक्रिय भएर बजार अनुगमन गरेको बताइरहँदा जिल्लामा व्यापारीको मनपरी बढेको उनीहरूले गुनासो गरे । सरकारी टोलीले अनुगमनका नाममा केही पसलमा अनुगमन गर्दै आए पनि सरकारी टोलीलाई गिज्याउँदै तरकारी तथा खाद्य व्यापारीहरूले बजारमा मनपरी गर्दै आएका छन् । 

samosa

अनुगमन नहुँदा बजारमा उपभोक्ता ठगिने गरेको गुनासो आएपछि कोशी गाउँपालिका क्षेत्रमा उपाध्यक्षको नेतृत्वमा बजार अनुगमन गरिएको कोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीले बताए । ‘हामीले समय–समयमा बजार अनुगमन गर्दै आएका छौं तर, पनि कतिपय स्थानमा उपभोक्ता ठगिएका गुनासो आउने गर्छन्, त्यस्ता मनपरी र कालोबजारी रोक्न नयाँ योजना ल्याउँछौं’ उनले भने, ‘उपभोक्ता ठग्ने व्यापारीलाई कानूनी दायरा ल्याई कारबाही गर्छौं ।’

आगामी दिनमा समेत बजार अनुगमनलाई थप सक्रिय र प्रभावकारी बनाउँदै लाग्ने अधिकृत गिरीले दाबी गरे । कोशी गाउँपालिकाकी उपाध्यक्ष तथा बजार अनुगमन समितिकी संयोजक अनितादेवी यादवको नेतृत्वमा गरिएको बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रतिनिधि प्रशासकीय अधिकृत त्रिलोचन न्यौपाने, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि,जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

अनुगमन नहुँदा बजारमा व्यापारीको मनपरी बढेको उपभोक्ताहरूले गुनासो गर्दै आएका छन् । दैनिक सयौं उपभोक्ता पुग्ने र किनबेच गर्ने बजारमा नै अनुगमन नहुँदा व्यापारीले मनपरी गर्दै आएको उनीहरूले गुनासो गरे । जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालयबाट खटिने टोलीले कहिलेकाहीँ गर्ने अनुगमन देखाउनका लागि मात्र हुने गरेको हरिनगर गाउँपालिकाका नौसाद अन्सारीले गुनासो गरे ।

बजारमा व्यापारीको मनपरी बढेको बारे ध्यानाकर्षण गराउँदा जनप्रतिनिधि र कर्मचारीले सक्रियताका साथ बजार अनुगमनमा भइरहेको दाबी गरे । उनले भने, ‘तर, सरकारी टोलीले बजारको मनपरीलाई देखेको नदेखे झैं गरिरहेका छन् ।’

अनुगमन नहुँदा बजारमा उपभोक्ता ठगिने गरेको गुनासो आउने गरेको बताउँदै सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्थानीय तहसँग समन्वय गर्दै बजार अनुगमन गर्दै आएको बताउँछन् ।

‘हामीले स्थानीय तहसँग समन्वय गरेर समय–समयमा बजार अनुगमन गर्दै आएका छौं तर, पनि कतिपय स्थानमा उपभोक्ता ठगिएका गुनासो आउने गर्छ’ उनी भन्छन्, ‘त्यस्ता मनपरी र कालोबजारी रोक्न तथा गैरकानूनी रूपमा सञ्चालनमा रहेका पसलहरूलाई कानूनी दायरामा ल्याउन लागिपरेका छौं ।’

maxa 1