प्रदेश १ को नामाकरणका सम्बन्धमा मुख्यमन्त्री शेरधन राईले छलफल अगाडि बढाएका छन् । मंगलबार मुख्यमन्त्री कार्यालयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितलाई आमन्त्रण गरी छलफल अघि बढाएका हुन् ।

‘मुख्यमन्त्रीले कार्यालयमै बोलाएर प्रदेशको नामाकरण सम्बन्धमा छलफल अघि बढाउने प्रस्ताव गर्नु भएको छ,’ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले भने, ‘मुख्यमन्त्रीले आइसब्रेक गर्नु भा’छ, अनौपचारिक भए पनि  छलफल अघि बढेको छ ।’

नेता कोइरालाले वर्षे अधिवेशनमै प्रदेशको नामाकरणको विषय टुंग्याउने मुख्यमन्त्रीको आशय रहेको बताए । उनले आआफ्नो संसदीय दलमा छलफल गरी निर्णय गर्ने सहमति भएको जानकारी दिए । 

‘छलफलमा हामीले आआफ्नो संसदीय दलमा छलफल गरी निर्णयमा पुगौं भनेका छौं’ नेता कोइरालाले भने, ‘त्यसपछिमात्रै प्रदेशको नाम के रहने भन्ने विषयमा कुरा गरौंला ।’

प्रदेशको नामाकरण चाँडै गर्न नसकेको विषयमा मुख्यमन्त्री शेरधन राई आलोचित हुँदै आएका छन् । प्रदेश १ को नामाकरणका सन्दर्भमा विभिन्न नामहरु अगाडि आएका छन् । केही प्रदेश सभा सांसद्ले खुलेरै सार्वजनिक कार्यक्रममा प्रदेशको नाम प्रस्ताव गरेका छन् । सतहमा भने कोशी प्रदेश, किरात प्रदेश, सगरमाथा प्रदेशलगायतका नाम अघि आएका छन् ।