विभाजनको संघारमा पुगेको नेकपा एमाले एकताका लागि धरानले विभिन्न समयमा प्रयत्नसहितको सन्देश दिइरहेको छ । 

नेकपा एमालेकातर्फबाट धरान उपमहानगरपालिकाको मेयरमा विजयी प्रभावशाली नेता स्वर्गीय तारा सुब्बाको स्मृतिमा संयुक्त कार्यक्रम गरेर नेकपा एमाले धरानले एकताको सन्देश दिइसकेको थियो । 

पुष्पलाल स्मृति दिवसमा पनि युवाहरुले पार्टीलाई एक हुन सन्देश दिएका छन् । पार्टी विभाजनले पार्टी नै ध्वस्त हुने भएकाले नेतृत्वलाई समझदारीसाथ काम गर्न धरानका युवाले आग्रह गरेका छन् । 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३ औं स्मृति दिवसमा धरानमा युवा संघ नेपालले तारा सुब्बा स्मृति पार्कमा वृक्षरोपण गरेको छ । तारा पार्कमा सहभागी नेकपा एमालेका जिल्ला नेता, कार्यकर्ता, युवा, विद्यार्थीले वृक्ष रोपण गरे । 

विभिन्न जातका १ सय वटा वृक्षरोपण गरिएको युवा संघका धरान उपमहानगर अध्यक्ष कुमार भारतीले जानकारी दिए ।