नेपाल राष्ट्र बैंकसहित १६ वटा बैंकको प्रणाली ह्याक गरेर रकम चोर्ने धम्की ह्याकरले दिएपछि अहिले बैंकिङ क्षेत्रमा ‘आतंक’ फैलिएको छ ।

बिहीबार बिहान राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई अन्तर्राष्ट्रिय कल आयो । उनलाई फोनमा भनियो, ‘योर सिष्टम ह्याज बिन ह्याक्ड नेपाल राष्ट्र बैंक, नेपाल बैंक लिमिटेड एन्ड नबिल बैंक लिमिटेड ।’

यति भनेर फोन काटिएको ढकालले जानकारी गराए । उनका अनुसार त्यसपछि रेकर्डेड म्यासेज पठाइयो ।

‘रेकर्डेड म्यासेज पनि आयो । हामीले सबै सिष्टम चेक गर्यौँ । 

अहिलेसम्म कुनै प्रकारको ह्याकिङ छैन, हाम्रो सबै सिष्टम ठिक छ,’ उनले भने ।

उनले सबै सिष्टमको चेक गरिएको जानकारी गराए । तर अहिलेसम्म प्रहरीलाई भने औपचारिकरुपमा जानकारी गराइएको छैन ।

प्रहरी प्रवक्ता बसन्त कुँवरका अनुसार प्रहरीमा अहिलेसम्म जानकारी आएको छैन ।

‘हामीकहाँ जानकारी आएको छैन,’ उनले भने ।

बैंकहरुलाई इमेलमार्फत सिष्टम ह्याक गर्ने चेतावनी दिइएको छ ।

२४ घण्टाभित्रै ठूलो नोक्सानी पुर्याउने चेतावनी दिँदै बुधबारदेखि नै इमेल पठाइएको एक बैंकरले जानकारी दिए ।

ह्याकरले नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, नेपाल बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक, कुमारी बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, बैंक अफ काठमाण्डु, सिटिजन्स बैंकलगायतलाई नाम उल्लेख गर्दै ह्याक गर्ने चेतावनी दिएको छ ।