स्ट्यान्डअप कमेडी शो कमडी च्याम्पियन सिजन–२ का प्रतिस्पर्धी भरतमणि पौडेललाई छ लाख रुपैयाँ राशीको पुरस्कार घोषणा गरिएको छ । पौडेललाई गृह जिल्ला ताप्लेजुङका सांसद् योगेश भट्टराईको संयोजनमा उक्त पुरस्कार घोषणा गरिएको हो । 

भट्टराईले व्यक्तिगत रुपमा एकलाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजले दुई लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रले दुई लाख तथा रेडियो तमोरको तर्फबाट एकलाख रुपैयाँ गरी छ लाखको पुरस्कार घोषणा गरिएको हो । 

उनकै संयोजनमा काठमाडौंमा उपलब्ध ताप्लेजुङका संघ–संस्थाका प्रतिनिधीहरुको भेलामा उनले जिल्लाबासीका नाताले सबैले पौडेललाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए । 

भट्टराईले जिल्लाका विभिन्न क्षेत्रका प्रतिभा तथा कलाकारहरुलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम पुरस्कार र अक्षय कोषसमेत स्थापना गर्दै अएका छन् ।

कलाकारिताको सम्मान गर्न सकियो भने संस्कृतिको सम्मान हुने धारणा राख्दै नव प्रतिभालाई अघि बढ्ने वातावरण बनाउन सदैव अग्रसर हुने उनले बताएका छन् ।  

उक्त पुरस्कार पौडेलको च्याम्पियन यात्रा सकिएपछि प्रदान गरिने जनाइएको छ । 

ताप्लेजुङका कलाकार पौडेल अहिले कमेडी च्याम्पियनको टप ६ मा प्रतिस्पर्धारत छन् । जिल्लाको उदाउँदो कलाकारलाई प्रोत्साहनस्वरुपे पुरस्कार घोषणा गरिएको सांसद भट्टराईले बताएका छन् ।