भद्रपुर(ब्लाष्ट)जन्म दिनको अवसर पारेर गाउँपालिका अध्यक्षले दुइ परिवारका दशजना सदस्यको स्वास्थ्य बिमा गरिदिएका छन् । झापा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले वडा नम्बर ३ का गरिब तथा अति विपन्न परिवारका सदस्यको स्वास्थ्य बिमा गरिदिएका हुन् । 

पालिका अध्यक्ष लिङ्देनसहित स्वास्थ्य बिमाका कर्मचारी मार्फत बुधबार वडा नम्बर ३ बाङ्गेका कमल माझी,गिता,एलिसा,पावल र पिटरलाइ स्वास्थ्य बिमा परिचय पत्र प्रदान गरेका थिए ।

त्यसैगरी वर्षौयता देखि चिया वगानमा मज्दुरी गर्दै चिया मालिकको बगानमा बस्दै आएका कदम चोकका निर्मला किस्कु,धने,सुनिराम,नरेश र साधुलाइ समेत परिचय पत्र हस्तान्तरण गरेका थिए । दुवै परिवार मज्दुरी गर्दै गुजारा चलाउँदै आइरहेको अवस्थामा उपचारमा केही सजिलो होस भनेर यो काम गरेको अध्यक्ष लिङ्देनले बताए ।

जन्मदिनको अवसरमा भोज भतेर गरेर रकमको दुरुपयोग गरिरहेको धेरै स्थानमा देखेकोले त्यसलाइ नियन्त्रण गर्दै यस्ता सामाजिक काम तर्फ ध्यान जान प्रेरणा मिलोस भन्ने उदेश्य राखेर सानो सहयोग गरेको उनले बताए । पालिकामा रहेका सवै वडामा क्रमश यस्ता परिवारको स्वास्थ्य बिमा गरिदिने उनको योजना रहेको बताए ।

सरकारी मान्छे भएपनि जन्म दिनमा गरिएको यो काम नितान्त व्यत्तिगत भएको समेत उनले प्रष्ट पारे । प्रति परिवारका पाँचजना सदस्यको ३ हजार पाँचसय गरि ७ हजार रुपैयाँ लिङ्देनले भुक्तानी गरेका थिए । 

अध्यक्ष लिङ्देनले गरिब तथा अति विपन्नका लागि गरेको काम महत्वपूर्ण भएको स्थानीय जनक तामाङ्ले बताए । अन्य व्यत्तिहरुले पनि यस्ता अवसरमा उदाहरणीय काम गर्न तर्फ ध्यान जान जरुरी रहेको उनको भनाइ थियो । अध्यक्षले निःशुल्क स्वास्थ्य बिमा गरिदिएपछि बिमा पत्र पाएका परिवार खुसीले दङ्ग देखिएका थिए । 

1626865391289 1