इटहरी। इटहरीमा नौ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा इटहरी–४ का ३८ वर्षीय किसनकुमार उदासलाई प्रहरीले पक्राउ गरेको छ ।

गत वैशाखमा विवाह गरेका उदासले झड्केलो छोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा उदासलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । उदासले इटहरी–२० तरहराकी ३३ वर्षीया अर्काको पत्नीलाई बिहे गरेर ल्याएका थिए ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीका अनुसार उदासले बालिकाका संवेदनशील अङ्ग समाउनेलगायत क्रियाकलाप गरेकाले पीडित बालिकाले आफन्तको सहारा लिएर उजुरी दिएको बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बालिकाकी आमा र उदासबीच केही वर्षदेखि नै घनिष्ट सम्बन्ध रहँदै आएको थियो । सोही कारण गत वैशाखमा पहिलाका पतिलाई छाडेर ती महिलाले उदाससँग विवाह गरेकी थिइन् ।

आरोपित उदासलाई सोमबार प्रहरीले पक्राउ गरेर जिल्ला अदालत सुनसरीमा बाल यौन दुरुपयोगमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको इटहरी प्रहरीले जनाएको छ ।

पछिल्लो समय नशालु पदार्थ खुवाएर, डर, त्रास, धाक–धम्की, अनुचित प्रभाव, शरीर बन्धक राखेर तथा घरमा कोही नभएको मौका छोपेर बालिकालाई यौन दुरुपयोग तथा जबरजस्ती करणीका घटना बाहिरिने गरेको इटहरी प्रहरीले जनाएको छ ।