नेपाल सरकारसँगको सहमति कार्यान्वयन नभए संघर्षको बाटोमा जाने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहले चेतावनी दिएको छ । 

धरानमा पार्टीको सुनसरी जिल्ला समितिले पत्रकार सम्मेलन गर्दै देशका विभिन्न जिल्लाका कारागारमा रहेका करिब दुई दर्जन नेता तथा कार्यकर्ताको रिहाइको माग राखेको छ । 

विगतमा राज्य व्यवस्थाको सम्पूर्ण अधिकार दरबारमा रहे पनि हाल असफल व्यवस्था र अव्यवस्थित राजनीतिक व्यवस्थाको परिणामका कारण अदालतले राज्यका महत्वपूर्ण फैसला गरेको पार्टीले धारणा सार्वजनिक गरेको छ । 

नेकपाले हत्या र हिंसाको बाटो नभएर क्रान्ति रोजेको बताउँदै केन्द्रीय सदस्य दीपेशले राज्य अहिले पनि सिद्धान्त विपरीत रहेको आरोप लगाए । प्रतिबन्ध फुकुवा भए पनि राज्य आफैंले गरेका सहमति कार्यान्वयन गर्न उदासिन रहेको आरोप लगाए । 

नेपाल सरकार र नेकपा विप्लवबीच भएको सहमति कार्यान्वयन, वैज्ञानिक समाजवादका लागि जनमत संग्रहलगायतका विषयमा निर्णय गरिएको सुनसरी जिल्ला सेक्रेटरी विवश शर्माले जानकारी दिए । प्रतिबन्ध फुकुवापश्चात् भएका कयौँ राजनीतिक अवस्था, देशको निकासप्रति सार्वजनिक महत्वका माग तथा निर्णय सार्वजनिक गर्नका लागि पत्रकार सम्मेलन गरेको विवशले बताए । 

पार्टीले महिला हिंसा समाजिक अपराध, छुवाछूत, भ्रष्टाचार, कालोबजारी, कमिसनखोरी, लागूऔषध, पर्यावरणमा पारिरहेको असरलगायतका बेथितिहरुमा आवाज उठाउने निर्णय गरेको छ । 

पार्टीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको कोभिड–१९ का बिरामीहरुको उपचारमा भएको लापर्बाही तथा स्वास्थ्य सामग्री खरिदमा भएको घोटालाबारे छानविन गर्नसमेत माग गरेको छ । 

पार्टीको जिल्ला समितिको साउन ३ र ४ गते १४ औ पूर्ण बैठकका सम्पन्न भएको थियो । बैठकले गरेका १२ बुँदे निर्णय पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरिएको हो ।