जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले समाजमा शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै अवैध गतिविधि  र चोरी तस्करी पूर्ण रुपमा नियन्त्रण गर्ने दाबी गरेका छन् । 

प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंबाट दुई साता अघि मोरङ प्रहरी प्रमुख भएर आएका जिसीले सोमबार संचारकर्मीहरूबीच परिचयात्मक कार्यक्रम बोल्दै अवैध गतिविधि नियन्त्रण गर्ने दाबी गरे ।

 आफ्नो भावी कार्ययोजना सुनाउँदै एसपी जिसीले खुल्ला सीमाका कारण हुने चोरी, तस्करी नियन्त्रणमा लागि पर्ने बताए । सीमा क्षेत्रमा हुने चोरी, तस्करी नियन्त्रणमा कुनै सम्झौता नगर्ने एसपी जिसीको भनाइ छ ।

 ‘खुल्ला सीमा जोडिएको बोर्डरमा हुने चोरी तस्करीको गुनासो आउने गरेको छ,’ उनले भने, ‘यसको नियन्त्रणमा लागि पर्नेछु ।’ 

उनले अपराध अनुसन्धानमा पारदर्शी, निष्पक्ष भएर अपराध नियन्त्रणमा लागि पर्ने बताए । 

‘मोरङमा सुरक्षा थ्रेड पनि बढेको छ । केही दिन अगाडि मोरङको विराटचोकमा दिनदहाडै सुनचाँदी पसल लुटपाट प्रयासको घटनाका विषयमा एसपी जिसीले भने, ‘घटनामा संलग्न अपराधिलाई पक्राउ गर्न मोरङ प्रहरी लागिपरेको छ । यस घटनामा प्राविधिक पाटोदेखि पनि प्रहरीले अनुसन्धान थालेको छ ।’ घटनामा संलग्न ढिलो चाँडो पक्राउ गरेर छोड्ने उनले बताए । 

उनले लागूऔषध प्रयोगकर्ताहरू दुव्र्यसनीबाट मुक्त गराउन मोरङमा सचेतना अभियान पनि संचालनको तयारी गरिएको बताए । 

‘अहिलेका युवा पुस्ता दुव्र्यसनीमा फस्ने गरेका छन् । विराटनगरको सीमावर्ती क्षेत्र रानीमा क्यान सेन्टरमा सचेतना अभियान सुरू गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘यो अभियान चाँडै सुरू हुने छ । जसले गर्दा दुव्र्यसनीमा लागेका युवा कुलतको दलदलदेखि केही हदसम्म मुक्त हुने हाम्रो अपेक्षा  छ ।’ 

प्रहरी सधैभरी नागरिक मैत्री भएर काम गनुपर्ने उनले बताए । 

‘प्रहरी सधैभरी नागरिक मैत्री भएर सेवा प्रदान गरिनुपर्दछ,’ उनले भने, ‘मातहतमा सम्पूर्ण प्रहरीलाई नागरिक मैत्री भएर सेवा  दिन निर्देशन दिइसकेको छु ।’