धरान/  कोरोना संक्रमण भएपछि उपचारको क्रममा रहेका किरात राई यायोक्खा धरान उपमहानगर समितिका उपाध्यक्ष सन्तकुमार राईको निधन भएको छ । 

धरान १५ निवासी राईको विजयपुर हस्पिटलमा आज बिहान ४ बजेर ५० मिनेटमा निधन भएको हो ।मृतक राई यायोक्खाको १५ नम्बर प्रारम्भिक कार्यसमितिको निवर्तमान अध्यक्ष पनि हुन् । कोरोना संक्रमणसँगै फोक्सोमा पनि संक्रमण भएपछि उनी असार १९ गते अस्पताल भर्ना भएका थिए ।

मृतकको शवलाई १ बजेतिर नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने जानकारी पाएको यायोक्खा सुनसरी जिल्ला अध्यक्ष बलराम राईले बताए ।

उपाध्यक्ष राईको निधनले सम्पुर्ण किरात राई समुदायलाई अपुरणीय क्षति पुगेको पनि जिल्ला अध्यक्ष राईले बताए । उनले भने, ’उनको अप्रत्यासित निधनको खबरले स्तब्ध र मर्माहत छौं । किरात राई समुदायलाई अपुरणीय क्षति हो ।’

हस्पिटलका निर्देशक प्रभाव खतिवडाका अनुसार मृतक अस्पताल फोक्सोमा ७० प्रतिशत संक्रमण भइसकेको अवस्थामा थिए । भर्ना भएपछि एचडियुमा राखेर उपचार गरिएको र तीन दिनयता आइसियुमा भेन्टिलेटरमा राखेर उपचार गरिएको खतिवडाले जानकारी दिए ।