धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समितिले शनबार दिउँसो सिट्ठी जुलुस निकालेको छ ।

आन्दोलनकारीहरुले सरकारले उच्चस्तरीय कार्यदल गठन गरेपनि निष्कर्षमा नपुगेसम्म आन्दोलन जारी रहने पनि प्रष्ट पारेको छ । आन्दोलन एक महिना पुगेपछि मात्र सरकारले कार्यदल गठन गरेको थियो । यति लामो समयसम्म पनि शान्तिपुर्ण आन्दोलनको सुनुवाई नभएको भन्दै बहिरा सरकारलाई जगाउन सिट्ठी जुलुस निकालेको संघर्ष समितिले जनाएको छ । 

प्रतिष्ठानबाट निस्केको जुलुस भानुचोकमा पुगेर कोणसभा परिणत भएको थियो । बर्षा भएपनि आन्दोलनकारीहरुले छाता आढेर भानुचोकसम्म सिट्ठी जुलुस निकालेका थिए । भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै संघर्ष समितिका संयोजक डा.एस.पी.रिमालले पदाधिकारीहरु नियुक्तीमा हुने राजनीतिक स्वार्थ पुर्णरुपमा रोकिनुपर्ने बताए । उनले मापदण्ड बनाएर विज्ञ समुहको सिफारिश अनुसार पदाधिकारीहरु नियुक्तीको सिस्टम बनाउनुपर्ने माग पनि खुलाए ।

उच्चस्तरीय कार्यदल गठन भएपनि तार्किक निष्कर्षमा नपुगेसम्म आफुहरुले निरन्तर खबरदारी गरिरहने पनि बताए । उनले भने,‘हामी खबरदारी गरिरहन्छौं, वीपी जस्तो संस्थाहरुलाई राजनीतिक भर्तिकेन्द्र बनाउने होइन, जनताको उपचार गर्ने, विद्यार्थी बनाउने ठाउँ हुनुपर्छ ।’ धरान नागरिक दबाब समुहका संयोजक राजेन्द्र शर्माले उच्चस्तरीय समितिले वीपी प्रतिष्ठानको समस्यालाई जरैबाट उखेलेर फाल्नुपर्ने बताए । कामचलाउ तरिकाले मात्र छानबिन गरेमा धरानबासीहरु आन्दोलन गर्न तयार रहेको पनि उनले बताए । 

sithi-julus

विगत ३३ दिनदेखि आन्दोलनरत संघर्ष समितिको माग वमोजिम सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव डा.वैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरिसकेको छ । यो कार्यादल सोमबार धरान आउने बताइएको छ । सरकारले माग पुरा गर्न ढिलाई गर्दा आन्दोलनकारीले शुक्रबारदेखि बिहान ८ बजेदेखि १० बजेसम्म आकस्मिक, कोभिड अस्पताल र पुर्वनिर्धारित परीक्षाबाहेक सबै सेवाहरु बहिष्कार गरेका छन् । गएको असार १५ गते वार्ताको क्रममा उपकुलपतिले मदिरा पिएर आएको भन्दै आन्दोलनकारीले वार्ता बहिष्कार गरेको थियो भने भोलीपल्ट चारै जना पदाधिकारीहरुको राजिनामा माग गर्दै कार्यकक्षमा तालाबन्दी गरेको थियो ।