धरान/ सडक साइकलको लागि पनि त हो नि । यही सन्देश दिन आज धरानमा साइकल प्रेमीकोहरु समुह निस्कियो, धरान कोरा साइक्लिङ च्यालेञ्ज २०२१ आयोजना गर्दै धरान, इटहरी २० तरहराका साइक्लिष्टहरुले स्वतस्फुर्तरुपमा धरान कोरा आयोजना गरेका थिए । यसको संयोजक थिए, ट्रायथलन धरानका साइक्लिष्ट एवं धरान रनका रनर किरण लिम्बु । उनको नेतृत्वमा साइक्लिष्टहरुले धरानको विभिन्न सडक, चोकमा साइक्लिङप्रति जनचेतना जगाउदै हिडे ।

निषेधाज्ञा खुकुलो हुदै गएपछि धरानका सडकहरुमा साइक्लिष्टहरु पनि बाक्लो संख्यामा देखिन थालेका छन् । तर, उनीहरुलाई सडकमा साइकल गुडाउन निक्कै असहज हुन्छ । लाग्छ, सडक मात्र मोटरसाइकल र चार पांग्रे गाडीको लागि हो । 

कोरा साइक्लिङ धरान ८ स्थित यलम्बर पार्कबाट शुरु भएको थियो । साइक्लिष्टहरु भानुचोक, सदन स्कुल, बगरकोट, काठे पुल सेउती, पिण्डेश्वरी चोक, श्यामचोक, महादेव चोक हुँदै पानवारी निस्केर सेहरा खोला पुलमा खाजा खाएका थिए । सोही स्थानबाट तरहरा साइक्लिङ क्लबका साइक्लिष्टहरु तरहरा फर्किएका थिए । कोरा साइक्लिङमा ३२ जना साइक्लिष्टहरु सहभागी थिए । 

कोरा साइक्लिङमा ट्रायथलन धरानका खेलाडीहरु, पेडलर्स धरान, साइक्लिङ धरान, साइक्लिष्टहरु, तरहरा साइक्लिङ क्लबका साइक्लिष्टहरु सहभागी थिए भने साइक्लिङ विपीकेआइएचएसबाट डाक्टर मधुर बस्नेत पनि सहभागी थिए । यस्तै, धरान १८ का १० बर्षीय सायनिल सुनुवारले पनि सहभागिता जनाएको संयोजक लिम्बुले बताए । सायनिलले पेडलर्स धरानले व्यवस्थापन गरेको केक पनि काटेका थिए । 

cora1

धरान -१८ स्थित साइकल ल्याब एण्ड आउट डोर्सले खाजा र पानीको व्यवस्था गरेको थियो । तरहरा साइक्लिङ क्लबले ट्रायथलन धरानका खेलाडीहरुको लागि नगद २ हजार सहयोग गरेको छ । उक्त नगद क्लबका सदस्य प्रेम तामाङले ट्रायथलन धरानका अभियन्ता डा.समिर चौधरीलाई हस्तान्तरण गरेका थिए । 

शनिबार बिहान धरानमा मात्र होइन, काठमाण्डौं, ललिपुर, उदयपुर, विर्तामोड, बुटवललगायत विभिन्न सहरहरुमा एक साथ कोरा साइक्लिङ आयोजना भएको थियो । केही बिषेश उद्देश्य एवं च्यारिटीको लागि नेपालमा बर्षेनी कोरा साइक्लिङ आयोजना हुने गरेको छ ।  कोरा धरानका संयोजक लिम्बुका अनुसार ’बाटो/सडकमा साइकल पनि गुड्छन् है’ भन्ने सन्देश प्रवाह गर्नको लागि आयोजना गरिएको हो ।

सडकमा साइकल गुडिरहदा मोटरसाइकल, ट्रक, बसले ’ओइ साइकल’ भन्दै पेलेर जान खोज्ने साइक्लिष्टहरुको गुनासो छ । आजको कोरा साइक्लिङले उद्देश्य सडकलाई साइकलमैत्री बनाउन साइक्लिष्टहरुको पनि सामथ्र्य प्रर्दशन गरिएको ट्रायथलन धरानका अभियन्ता एवं डाक्टर समिर चौधरीको भनाई छ ।