धरान/ आजै धरान उपमहानगरपालिकाले पनि स्वर्गीय तारा सुब्बाको तेस्रो स्मृति दिवसमा एक कार्यक्रम आयोजना गरेको छ । बिहान ११ बजे उपमहानगरको प्रांगणमा प्रदेश सभामुख प्रदिपकुमार भण्डारीको प्रमुख आतिथ्यमा स्मृति दिवस आयोजना गरिएको उपमहानगरले जनाएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयरमा विजयी भएका सुब्बाको २०७५ साउन १ गते निधन भएको थियो । 

आज स्वर्गीय मेयर तारा सुब्बाको तेस्रो स्मृति दिवस नेकपा एमालेका दुवै समुहले धरानमा संयुक्तरुपमा मनाउदैछन् ।

बिहान धरान १९ हरियाली सामुदायिक वन समुह हाताभित्र रहेको तारा सुब्बा स्मृति पार्कमा दुवै समुहले संयुक्त कार्यक्रम गर्ने तयारी गरेका हुन् । बिहान ७ बजे कार्यक्रमको तयारी भएपनि बर्षाको कारणले प्रभावित हुन पुगेको छ ।

आफ्नै पार्टीको सरकार ढलेपछि केन्द्रमा पार्टीअध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समुहबीच तिक्तता झनै बढेको बेला धरानमा भने दुवै समुहले संयुक्तरुपमा कार्यक्रम गरेर पार्टी एकताको सन्देश दिन लागेका हुन् ।

कार्यक्रममा स्वर्गीय मेयर सुब्बाको प्रतिमामा माल्यार्पण गरिनेछ भने छोटोरुपमा जीवनी चर्चा हुने उनले बताए । ओली समुहकी धरान उपमहानगर उपाध्यक्ष सविता राईले पनि पार्टी एक भएर जानुपर्ने सन्देश दिनकै लागि संयुक्त कार्यक्रम गरिएको बताइन् । उनले सबैको अस्तित्व स्वीकार गर्दै पार्टीलाई सांगठनिक र भावनात्मकरुपमा एक बनाउनुपर्ने आवश्यकता रहेको पनि बताए ।

एमालेको माधव नेपाल समुहका अध्यक्ष नारायण सुवेदीले पार्टी एकताको सन्देश दिनलाई पनि संयुक्तरुपमा कार्यक्रम गर्न लागेको बताए । पार्टी एक नभै धरै छैन, एकताको सन्देश जाओस् भनेर पनि संयुक्तरुपमा मनाउदैछौं, उनले भने ।