धरान/ राष्ट्रिय युवा संघ धरान उपमहानगर कमिटीले धरान १३ स्थित वीपी पार्कमा वृहत वृक्षारोपण कार्यक्रम गरेको छ ।

युवा संघले ओशो पार्कमा २ सय वटा भुगोलमा सुहाउँदो अमला, अर्जुन, मसला, बेल , लिच्चि, आँपलगायत विभिन्न प्रकारका फलफुल तथा बोटविरुवाहरु रोपेको छ । 

युवा संघले मंगलबार संरक्षणको प्रकृति, सुरक्षाको सन्तति भन्ने नारासहित वीपी पार्कमा बृक्षारोपण गरेको हो । बाढी तथा पहिरोको जोखिम कम गर्न र अक्सिजन पनि कमी हुन नदिन संघको केन्द्रीय अभियान अन्तर्गत धरानमा पनि वृक्षारोपण गरिएको संघका धरान अध्यक्ष भवानी दाहालले जानकारी दिए । उनका अनुसार २ सय वटा विरूवाहरु रोपिएको छ । 

संघ धरान कमिटीका ईन्चार्ज विवेक राइले आगामी साउन ७ गतेसम्म देशभर कम्तीमा ५ लाख बिरुवा रोपने कार्यक्रम रहेको बताए । संघले यसअघि रक्तदान कार्यक्रम गरिसकेको छ भने वीपी प्रतिष्ठानमा ५ सय र विद्युत प्राधिकरणमा पनि फलफुल तथा विरुवाहरु रोपिसकेको छ । 

उक्त कार्यक्रममा नेकपा एमाले नगर ईञ्चार्जसमेत रहेकी धरानकी उप प्रमुख मञ्जु भण्डारी सुवेदीले लिच्चिको बिरुवा रोपेर वृक्षारोपणको शुभारम्भ गरेकी थिइन् । उनले सहर तथा समाजकै सौदन्र्य बढाउने र प्रकृतिको संरक्षणमा पनि सहयोग पुग्ने भन्दै संघको कार्यको प्रसंसा गरिन् ।