नेपाल पत्रकार महासंघ सुनसरीको नेतृत्वको पछिल्ला गतिविधि पत्रकारको आर्थिक, सामाजिक, व्यावसायिक र भौतिक हीतविपरीत भएको भन्दै प्रेस चौतारी सुनसरीले प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको छ । 

महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईका कारण मानसिक तनाव झेल्नु परेका पत्रकारको अपिल र इनरुवा नगरपालिकाको लेखनवृत्तिवापत् विनियोजित रकम महासंघका अध्यक्ष राई र उपाध्यक्षले अन्य ठाउँमा खर्च गरी दुरुपयोग गरेको विषयमा सुनुवाई नगरेको भन्दै प्रेस चौतारी नेपाल सुनसरीले सत्यतथ्य छानबिन गर्न माग गर्दै विज्ञप्ति जारी गरेको छ । 

चौतारीका जिल्ला अध्यक्ष शेखर ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाल पत्रकार महासंघको सुनसरीको पछिल्ला गतिविधिले पत्रकार मात्र नभएर आम नागरिकलाई सशंकित बनाएको उल्लेख छ ।

दुई वटा घटना, पहिलो ‘नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईबाट मानसिक तनाब झेल्नु परेकाले छानविनको माग गर्दै पत्रकार दिलबहादुर राईले दिएको निवेदनको वेवास्ता हुनु र दोस्रो घटना महासंघ सुनसरीमार्फत इनरुवामा कार्यरत पत्रकारका लागि दिइएको लेखनवृत्ति (फेलोसिप) को रकम दुरुपयोग हुनु’ लाई चौतारीले पत्रकारको मर्म र भावना विपरीतको काम भनेको छ । 

चौतारीले महासंघको गरिमा जोगाउन घटनाको छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न र पीडितलाई न्यायको अनुभूति दिलाउन अपिल गरेको छ । 

महासंघ सुनसरीले विगतका अभ्यास र अनुभवलाई लत्याउँदै पत्रकारहरुको भावना विपरीत गरेको कार्यप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ । 

हेर्नुहोस् विज्ञप्ति

chautari apeal blastkhabar