बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान शुद्धीकरण अभियान संयुक्त संघर्ष समिति र नेपाल सरकार स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच छलफल भएको छ । छलफलमा संघर्ष समितिले आफ्ना माग राखेको छ । यसलाई औपचारिक वार्ता नभने पनि मन्त्रालयका तर्फबाट प्रतिनिधि आई संघर्ष समितिका कुरा सुन्ने प्रयास भएकामा यसलाई सकारात्मक कदमका रुपमा लिएको समितिको भनाइ छ । 

मंगलबार विज्ञप्ति जारी गर्दै संघर्ष समितिले आन्दोलनको २२औँ दिनमा पनि औपचारिक वार्ता टोली गठन गर्न ढिलाई गर्नु दुःखद एवम् गैरजिम्मेवारीपूर्ण रहेको बताएको छ । 

संघर्ष समितिले प्रधानमन्त्री एवम् कुलपतिको अग्रसरतामा अधिकार सम्पन्न, उच्चस्तरीय वार्ता टोली अविलम्ब गठन गरिनुपर्ने माग राखेको छ । वर्षौँदेखिको अनियमितता, भ्रष्टाचार, अपारदर्शिता, शून्य जवाफदेहीताले गर्दा  प्रतिष्ठान ‘प्रणालीगत असफलता’ तर्फ गएको संघर्ष समितिको ठहर छ । 

हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान शुद्धिकरण अभियान संयुक्त संघर्ष समिति– २०७८

प्रेस विज्ञप्ति

मितिः २२–०३–२०७८

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान शुद्धिकरण अभियान संयुक्त संघर्ष समिति र नेपाल सरकार स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरुबीच मिती २१/०३/२०७८ मा छलफल भएको छ। हाम्रा कुरा बुझ्ने, सुन्ने प्रयास गर्नुभएको यस कदमलाई हामीले सकारात्मक रुपमा लिएका छौं। यद्यपि, हामीले यसलाई औपचारिक वार्ता मानेका छैनौं। आन्दोलनको २२औँ दिनमा पनि औपचारिक वार्ता टोली गठन गर्न ढिलाई गर्नु दुःखद एवम् गैरजिम्मेवारीपूर्ण छ।

हाम्रा निम्न अडानहरू  प्रष्टरुपमा पुनः सबैलाई जानकारी गराउन चाहन्छौंः

१ः बर्षौँदेखिको अनियमितता, भ्रष्टाचार, अपारदर्शिता, जवाफदेहीता शुन्य आदिले गर्दा  प्रतिष्ठान “प्रणालीगत असफलता“ (systemic failure) मा रहेको कुरामा अब दुई मत छैन । यसलाई तत्काल एवं गम्भीरतापूर्वक सम्बोधन नगरिए अकल्पनीय दुर्घटना हुने निश्चितप्रायः छ। त्यसैले प्रतिष्ठानमा देखिएका समस्याको अल्पकालीन एवम दीर्घकालीन समाधानको स्पष्ट मार्गचित्र प्रस्तुत गर्नसक्ने एवम् हामीले प्रष्ट रुपमा र बस्तुगत रुपमा उठाएका १२ बुँदे माग सम्बोधन गर्न प्रधानमन्त्री एवम् कुलपति ज्युको अग्रसरतामा अधिकार सम्पन्न, उच्चस्तरीय वार्ता टोली अविलम्ब गठन गरिनुपर्ने ।

२ः गत असार १५ गते यस प्राज्ञिक स्थलमा हामीलाई वार्तामा बोलाएर, कार्यालय समयमा स्वयम् हामी चिकित्सक एवम् स्वास्थ्यकर्मी उपस्थित वार्तामा मादक पदार्थ सेवन गरिएको घटनामा सम्पूर्ण नागरिक समाज, पत्रकार, राजनीतिकर्मी एवम् निर्वाचित जनप्रतिनिधि (धरान उपमहानगरपालिकाका वडाध्यक्ष एवम् मेयर) लगायतकाले पटकपटक छानबिनको माग गर्दा, ड्युटीमा रहेका चिकित्सक स्वयम् जाँचका लागि उपस्थित हुँदासमेत जाँच गर्न नदिन राज्यका सम्पूर्ण शक्ति प्रयोग हुनु र आजका दिनसम्म सरकारले त्यसको छानबिन नगर्नु दूर्भाग्यपूर्ण छ। यसको जति निन्दा गरेपनि कम हुन्छ। आफ्ना पदीय जिम्मेवारी पुरा नगर्ने, यस्ता निकृष्ट कार्य गर्ने एवम् ढाकछोप गर्न कुनै कसर नराख्ने यस्ता पदाधिकारीहरूलाई शिक्षा र स्वास्थ्यको यस मन्दिरमा एक मिनेट पनि बस्ने अधिकार छैन। तसर्थ, चारैजना पदाधिकारीहरुले राजीनामा दिई मार्गप्रशस्त गर्नु नै अहिलेको प्रस्थानबिन्दु हो । सिर्जित उक्त गम्भीर विषयलाई तत्काल सम्बन्धित निकायले छानविन गर्ने र कारवाहीको प्रकृया अगाडि बढाउने ।

३ः नेपालका कुनै पनि स्वास्थ्य एवं शैक्षिक संस्थाहरुमा पदाधिकारीहरूको नियुक्तिको मापदण्ड सार्वजनिक गर्ने। नियुक्त पदाधिकारी कुन मापदण्डबाट र के के प्रतिज्ञा गरी छनौट गरिएको हो सो कुरा छनौट हुनासाथ सार्वजनिक गर्ने व्यवस्था तत्काल गर्ने। छनौट भएका पदाधिकारीले गरेका प्रतिज्ञा पूरा भएको÷नभएको हरेक ६–६ महिनामा सम्बन्धित निकायले सुपरिवेक्षण गर्ने र सार्वजनिक गर्ने। 

साथै,

सम्पूर्ण फ्याकल्टी, कर्मचारी, जे आर, विद्यार्थी, नागरिक समाज लगायत सरोकारवालाहरुको लगातारको सल्लाह, विश्वव्यापी फैलिएको महामारी, मौसमी प्रतिकूलता एवम् त्यसबाट उत्पन्न घटनाक्रमलाई मध्यनजर गर्दै उपचार एवम् शैक्षिक गतिविधिलाई कुनै असर नगर्नेगरी बिरोधका कार्यक्रम जारी राख्दै थप कडा कार्यक्रम सार्वजनिक गर्दैजाने पनि सबैमा जानकारी गराउन चाहन्छौं। यो पवित्र अभियानलाई देश विदेशबाट ऐक्यबद्धता आउनेक्रम जारी रहेको र सबैले आआफ्नो ठाउँबाट थप उर्जाशील सहयोग गरिदिनुहुन पनि हार्दिक अनुरोध गर्दछौं। धन्यवाद।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान शुद्धिकरण अभियान संयुक्त संघर्ष समिति– २०७८