विराटनगर / एक जना मजदुरकोे मृत्यु र अर्का एक गम्भीर घाइते हुने गरि भएको कार दुर्घटनाको आरोपमा पक्राउ परेका विराटनगर– ५ बरगाछीका २४ वर्षिय रोबिन भनिने रविन सिंह कार्की विरूद्ध मोरङ अदालतमा अभियोग दर्ता भएको छ । 

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले ‘सवारी ज्यान मुद्दा’ मा मोरङ अदालतमा मंगलबार अभियोग दर्ता गराएको हो । सरकारी वकिलको कार्यालयले सवारी तथा यातायत व्यवस्था ऐन २०४९ दफा १६१ (२) र दफा १६२ (१) को कुसरमा निज प्रतिवादी रविनलाई सोही ऐनको दफा १६१(२) को बमोजिमक तीन वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवनाका माग दावी राखेर अदालतमा अभियोग दर्ता गराएको छ ।

Yank

अदालतमा मंगलबार अभियोग दर्ता गराएकोले बुधबार प्रतिवादीको अदालतमा बयान हुने  र बयान सकिए सोही दिन थुनछेक बहस हुनेछ । ‘अदालतमा अभियोग दर्ता भएको छ,’ मोरङ अदालतका स्रेस्तेदार राजकुमार दाहालले भने, ‘प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।’ कुन इजालशको न्यायाधीशकोमा थनछेक बहस हुने त्यो बुधबार गोलाप्रथा द्धारा तोकिनेछ । 

जेठ २० गते राती साढे सात बजे प्रदेश सांसद बिन्धिया कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिदाँ ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् ।

रोबिन सांसद कार्कीको छोरा हुन् । मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका कामदार हुन् । मदिरा सेवन गरेपछि कार्कीले चलाएको कार दुर्घटना भएको थियो । दुर्घटना भएको तीन दिनपछि २३ जेठमा कार्कीलाई मोरङ प्रहरीले पक्राउ गरेको थियो । 


बागमती प्रदेशबाट झिकियो रविनको लाइसेन्स 

रविनले दुई वर्ष अगाडी बागमती प्रदेशको यातायात कार्यालयदेखि सवारी अनुमति पत्र (लाइसेन्स) बनाएको खुलेको छ । दुर्घटना गराएको बेला लाइसेन्स नभेटिए पनि अदालतमा अभियोग बुझाउने बेलामा लाइसेन्स रहेको पत्र फेला परेको हो । 

रविनले २०७५ कार्तिक १२ गते सवारी चालक अनुमति पत्र बनाएको अभियोगमा बुझाएको पत्रमा उल्लेख छ । अभियोग पत्रमा हार्डकपी सवारी अनुमित पत्र नभए पनि लाइसेन्स नम्बर उल्लेख गरिएको छ । बागमती यातायात व्यवस्था कार्यालयले दिएको पत्र अनुसार रविनको ०१–०६–००५४२५१९ नम्बरको लाइसेन्स रहेको पत्रमा उल्लेखछ । ‘पक्राउ गर्दा रविनको साथदेखि लाइसेन्स भेटिएको थिएन् ।

पछि अनुसन्धानको पुरा गर्ने समयमा लाइसेन्स रहेको भनिएको थियो । पछि बागमती प्रदेशबाट बनाएको लाइसेन्स नम्बर सहितको पत्र आएको छ । हार्डकपी सवारी अनुमति पत्र भने आइपुगेको छैन,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने ।