विराटनगर। जेठ ३० गते आक्रमणमा परी घाइते बनेका मोरङको कटहरीका काठ व्यापारी सञ्जयकुमार करवाले ‘प्रहरीबाट न्याय नपाएको’ बताएका छन् ।

कटहरी गाउँपालिका–२ हल्दीबारीस्थित जय हनुमान भेनीयर उद्योगका सञ्चालक करवामाथि कटहरी–३ का उचितलाल साह र छोरा अजय साहले कुटपिट गरेका थिए । करवामाथि अजयले ढुङ्गाले आक्रमण गर्दा टाउकोमा गम्भीर चोट लागेका कारण ६ टाँचा लगाएका छन् । उक्त घटना बाबुबाजेको पालामा भएको रिसइबीका कारण भएको पीडित करवाको भनाइ छ ।

घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आफू प्रहरीमा निवेदन दिन गए पनि प्रहरीले निवेदन दर्ता नगरेको उनको भनाइ छ । आक्रमणमा संलग्न उचितलाल धान व्यापारी हुन् भने छोरा अजय पूर्वाञ्चल विश्वविद्यालय पुसेटका प्राध्यापक हुन् । 

मोरङ प्रहरीले जाहेरी नलिएको व्यापारी करवाले आइतबार विराटनगरको पत्रकार सम्मेलनमा बताए । उनले टाउकोमा चोट लाग्ने गरी कुटपिट गर्दा पनि उक्त घटनाको उजुरी प्रहरीले नलिई उल्टै मिल्नका लागि दबाव दिएको आरोप लगाए । यता जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी मानबहादुर राईले हालसम्म करवाको उजुरी मोरङ प्रहरीमा नआएको दाबी गरे ।

‘जाहेरी आएको खण्डमा प्रहरीले दर्ता नगर्ने भन्ने नै हुँदैन’ डिएसपी राईले भने, ‘कुनै पनि घटनामा दोषी देखिए प्रतिवादीलाई कानूनी कारबाहीको दायरामा ल्याइनेछ ।’ व्यापारी करवाले अगाडि भने, ‘काम गर्दै गरेको अवस्थामा मलाई एक्कासि आएर बाबुछोराले आक्रमण गरे । मोरङ प्रहरी कार्यालयमा पुगेर ज्यान मार्ने उद्योगमा जाहेरी दिँदा प्रहरीले मेरो जाहेरी लिन मानेको छैन ।’

उनले पत्रकार सम्मेलनमा भने, ‘अहिले मुद्दा फाँटका प्रहरीले उल्टै पीडक पक्षसँग मिल्न दबाव दिने गरेका छन् ।’ आफूलाई आक्रमण गर्ने बाबुछोरा पहुँचवाला भएकोले प्रहरीले जाहेरी लिन नमानेको उनको आरोप छ । प्रहरीले जाहेरी नलिँदा आक्रमण गर्नेहरू खुलेआम हिँड्ने गरेको उनले बताए ।

यस्तो छ घटना
मोरङको कटहरी–२ मा जमिन भए पनि करवा विराटनगर–७ मा बस्दै आएका छन् । हुलाकी लोकमार्ग सडक विस्तारको क्रममा कटहरी–२ मा करवाको ३ कठ्ठा १७ धुर जमिनमध्ये केही भाग भत्काइदिएको थियो ।

उनी २९ जेठमा पसल बनाउन जग्गा छुट्याउन कटहरी–२ पुगेका थिए । अमिन ल्याई जग्गा छुट्याएपछि सँधियार हरि राजवंशीको घर पूर्वपट्टिको बाटोमा बसेर सडकका विषयमा छलफल गरिरहेको अवस्थामा मोटरसाइकलमा आएका उचितलाल र उनका छोरा अजयले ढुङ्गाले आक्रमण गरेको उनको भनाइ छ ।

‘किन एक्कासि आफूमाथि यसरी आक्रमण भयो, मलाई कुनै जानकारी छैन’ करवाले भने, ‘बाबुबाजेको पालामा उहाँहरूको रिस थियो भन्ने मलाई लागेको छ । त्यही रिस फेर्न ममाथि आक्रमण भयो ।’