बराहक्षेत्र नगरपालिकाले स्थानीय तहमै पहिलो पटक रोग, कीरा र बालीको अध्ययन अनुसन्धानका लागी कृषि ल्याब स्थापना गरेको छ ।
नगरपालिका कम्पाउण्ड भित्र निर्माण गरिएको ल्याब संचालनका लागि तयारी अवस्थामा छ । संघीय र प्रदेश स्तरमा मात्र कृषि ल्याब रहेकामा बराहक्षेत्र नगरपालिकाले स्थानीय तहमा मुलुकमै पहिलोपटक ल्याब संचालन गर्न लागेको कृषि प्राविधिक निरबहादुर राईले जानकारी दिए ।
चालु आ.व.मा बराहक्षेत्र नगरपालिकाले बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रको सशर्त अनुदानमा मकै प्रवद्र्धन कार्यक्रम मार्फत् १० हजार केजी मकैको बिउ वितरण गरेको छ ।
टिएक्स ३६९ जातको हाइब्रिड मकैको बिउ ४७६ हेक्टरका लागि बितरण गरिएको छ । ८० कृषकलाई ५० प्रतिशत अनुदानमा मकै छोडाउने मेसिन प्रदान गरिएको छ ।
बराहक्षेत्र नगरपालिकाले धान प्रवद्र्धन कार्यक्रम मार्फत् चैते धान हडिनाथ–३ जातको बिउ २३ हेक्टरका लागि निःशुल्क वितरण गरी क्षेत्र विस्तार गरिएको नगर कृषि शाखा प्रमुख तुलसा लिम्बूले बताइन् । उन्नत धानको बिउ अनुदान कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा वर्षे धानको विभिन्न १२ जातको बिउ १७ हजार ६सय केजी वितरण गरिएको छ ।
यसैगरी धान प्रवद्र्धन कार्यक्रम मार्फत २० लाख रुपैँया बराबरको ३ थान रिपर र १ थान कम्बाइट हार्भेस्टर वितरण गरिएको छ ।
कृषिमा प्रदेश साझेदारी कार्यक्रम अन्तर्गत ७० मेट्रिकटन क्षमताको मिनी कोल्डस्टोर निमार्ण गरिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय विराटनगरको ७५ प्रतिशत र नगरपालिकाको २५ प्रतिशत साझेदारीमा ६८ लाख रुपैँयामा कोल्ड स्टोर निर्माण भई संचालमा आएको छ ।
यस्तै मन्त्रालयकै ५० प्रतिशत साझेदारीमा बाङ्गे बजार व्यवस्थापन कृषि टहरा ६० लाखको लागतमा निर्माण गरिएको छ ।
मन्त्रालयकै साझेदारीमा बराहक्षेत्र ९ ढोलबजियामा रहेको सुन्दर कृषि फार्मको २५ प्रतिशत लगानीमा ४० मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण गरिएको छ ।
यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकै ५० प्रतिशत अनुदानमा अभियानमुखी कृषि फार्म बराहक्षेत्र १० मा ६० लाखको लागतमा गोदाम घर निर्माण भएको छ ।
नगरपालिकाबाट विनियोजित बजेट मार्फत कृषकहरुलाई ८६ थान साना सिंचाई विद्युतीय मोटर ५० प्रतिशत अनुदानमा वितरण गर्ने तयारी गरिएको कृषि प्राविधिक निरबहादुर राईले बताएका छन् ।
नगरमा ३ थान बोरिङ र एउटा डिप ट्युबवेल निर्माण सम्पन्न गरिएको प्राविधिक राईले बताए । उनका अनुसार नगरको कृषि शाखाले विभिन्न जातका तरकारीका बिउ १२ हजार ८सय प्याकेट बितरण गरेको छ । हिउँदे मिनी किट ३५ सय प्याकेट वितरण गरेको छ ।
आकस्मिक बाली संरक्षण कार्यक्रम मार्फत् ५ लाख बराबरको विषादी वितरण गरिएको छ । कृषि शाखाका अनुसार नगरले आइपीएम कृषक पाठशाला संचालनमा ल्याएको छ । माटो शिविर, कृषि ल्याबका सामग्री खरिद र स्थलगत तालिम ११ वटा विभिन्न वडामा सम्पन्न गरिएको छ । जसमा ३ सय जना कृषक सहभागी भएका छन् ।
नगरले ५० प्रतिशत अनुदानमा स्पेयर ट्याङ्की वितरण गरेको छ ।
प्राविधिक राईका अनुसार नगरपालिकाले कृषक परिचय पत्रका लागि सफ्टवेयर खरिद गरी उत्पादन नियन्त्रण प्रणाली अन्तर्गत कृषकको विवरण दर्ता गरिएको छ । हाल सफ्टवेयरमा ८सय ३६ जना कृषकले विवरण दर्ता गराएका छन् ।
यसैगरी पकेट विकास कार्यक्रम अन्तर्गत सर्शत अनुदानमा ४ वटा च्याउ पकेट क्षेत्र र एउटा तरकारी पकेट क्षेत्र संचालनमा रहेको कृषि शाखा प्रमुख तुलसा लिम्बूले बताइन् ।