सिन्ह्वा / इरानका विदेशमन्त्री मोहमद जवाद जारिफले यमनमा हाल देखिएको संकट राजनीतिक प्रक्रियाबाट नै समाधान गर्नुपर्ने धारणा राखेका छन् । उनले अहिलेको यमनको समस्या अरु कुनै माध्यमबाट नभएर राजनीतिक तवरबाट र वार्ताको माध्यमबाट नै हुनुपर्नेमा जोड दिए ।

उनले यमनको समस्या समाधानका लागि इरानले कहिल्यै पनि सैनिक माध्यमबाट हुन्छ भन्ने नठानेको र यो समस्याको समाधान शान्तिपूर्ण रुपमा वार्ता गरेर नै समाधान गर्नुपर्छ भन्ने इरानलाई लागेको उनले बताए ।

यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत मार्टिन ग्रिफथससँग तेहरानमा भएको भेटवार्तापछि उनले सो धारणा राखेका हुन् । मार्टिन ग्रिफथस हाल इरानको भ्रमणमा पुगेका छन् । उनीहरुबीच बुधबार बिहान भेटवार्ता भएको थियो ।

उनले यमनमा संकट शुरु भएको अहिले छ वर्षपछि त्यहाँ धेरै ठूलो मानवीय संकट परेको पनि बताए । यस संकटका कारण नागरिक न्युनतम आवश्यकता पनि प्राप्न गर्न नसक्ने अवस्थामा रहेका देखिएको छ ।

उनले भनेका छन् कि समस्या झन् बल्झिँदै गएकोले अब सैनिकका माध्यमबाट समाधान खोज्ने बाटो बन्द गर्नुपर्छ । जनतामा मानवीय सहायताकै संकट पर्दै जान थालेकोले यस्तो अवस्थामा यहाँका नागरिकलाई सहयोग गर्नका लागि नाकाबन्दीको बाटो पनि कसैले रोज्न नहुने सुझाव पनि उनले पेस गरेका थिए ।

यमनमा सन् २०१४ देखि विभिन्न विद्रोही समूहहरुको हिंसा जारी रहेका छ । त्यहाँ गएका कैयौँ वर्षदेखि गृहयुद्ध चलिरहेको छ । जसका कारण धेरै नागरिकको ज्यान पनि गएको छ ।