सुनसरीको वराहक्षेत्र नगरपालिका ८ स्थित रामधुनी सामुदायिक वन सालवनी क्षेत्रमा प्रदेश सरकारको अनुमतिमा औद्योगिक क्षेत्र निर्माण शुरु भएको छ । 

७ बिघा क्षेत्रफल छुट्याइएको औद्योगिक क्षेत्रका लागि घरेलु तथा साना उद्योग मन्त्रालयबाट ९२ लाख रुपैयाँ विनियोजन भएर काम शुरु भइसकेको छ । 

इबिडिङमार्फत् अशोक कन्स्ट्रक्सनले ठेक्का पाएपछि हाल कम्पाउन्ड वालका काम भइरहेको छ । वाल ७ सय मिटर बन्ने वडाध्यक्ष फडिन्द्र भट्टराईले जानकारी दिए ।

वडाध्यक्षका अनुसार तत्काल कम्पाउन्ड वाल, प्रशासनिक भवन, पालेघरको संरचना निर्माण हुने छ । 

यस औद्योगिक क्षेत्रभित्र ठूला, मझौला र साना उद्योग गरी तीन भागमा वर्गीकरण गरिनेछ । 

दलहन, तेलहन, मकै, धानलगायतका कृषिजन्य उत्पादनका उद्योगलाई प्रोत्साहित गरिने छ । मकैबाट दाना उत्पादन गर्ने उद्योगहरु स्थापना गर्नका लागि यो क्षेत्र उपयुक्त रहेको स्थानीय समाजसेवी युवराज गौतम बताउँछन् । 

उद्योगहरुको सम्भाव्यता अध्ययन गरी थप नीति, कार्यक्रम, योजना र  भौतिक निर्माण गरिने छ । औद्योगिक क्षेत्रलाई नगरको गौरवको योजनाका रुपमा विकास गरिने छ ।