धरान । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले असार १ गतेदेखि कक्षा सञ्चालन गर्न निर्देशन दिएका छन् । 

उनले आर्थिक वर्ष २०७८/२०७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिनेक्रममा वैकल्पिक विधिमार्फत् असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न निर्देशन दिएका हुन् । श्रेष्ठले तत्काल देखिने गरी सबै काम अगाडि बढाउन विभागीय प्रमुखलाई निर्देशन समेत दिएका छन् । 

बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्नका लागि कार्यविधि योजना तयार गर्न ढिला गर्न नहुने उनले बताए । मन्त्री श्रेष्ठले भने, ‘साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्ने विषयमा अघि बढ्नुस् ।’ 

उनले असार १ गतेबाट भर्ना प्रक्रिया सुरु गरी वैकल्पिक विधिमार्फत कक्षा सञ्चालन गर्न निर्देशन दिएका हुन् । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यविधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने बताए । उनले मन्त्रालयले साउन १ गतेबाट बजेट कार्यान्वयनमा लैजान सबै प्रक्रियाअघि बढाइएको जानकारी गराए । 

बजेट तथा योजना महाशाखाका सहसचिव डा. तुलसी थपलियाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न तत्काल कार्यविधि निर्माण गर्नुपर्ने बताए । उनले आगामी आर्थिक वर्षको बजेटमा देशभरका १ हजार ५ सय विद्यालय र क्याम्पस पुनःनिर्माण हुने बताउँदै त्यसका लागि योजना निर्माण भइरहेको जानकारी दिए । 

विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने, सहुलियत दरमा २५ लाख रुपैयाँसम्म ऋण दिने, कक्षा ९ सम्म रंगिन पाठ्यपुस्तक उपलब्ध गराउनेलगायतका महत्त्वपुर्ण योजना कार्यान्वयन गर्न मन्त्रालयले योजना तयार पारिरहेको बताए । 

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले केही दिनपछि बोर्डको बैठक बसेर  एसईई परीक्षाफल प्रकाशित गर्ने मिति तय गरिने बताए । उनले भने, ‘गत वर्षकै आधारमा एसईईको परीक्षाफल प्रकाशित गर्नेछौ ।’

बजेटमा उल्लेख भएअनुसार करिब १३ हजार विद्यालयमा स्काउट निर्माण गर्ने, विद्यार्थीलाई खेलकुद गतिविधिमा अघि बढाउने विषयलाई लागू गरिने जानकारी दिए । बैठकमा जनक शिक्षा सामाग्री संस्थान लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले शैक्षिक सत्र अगावै पुस्तक ढुवानी गर्न खुला गर्न आग्रह गरे ।